Delivery in 1-3 days
नियात्राकार चन्द्रप्रसाद भट्टराईको यो तेस्रो नियात्राकृति हो । यसमा उनका बेलाइत, जर्मनी, अस्ट्रिया, सिङ्गापुर, अमेरिका, भारत र स्वदेशभ्रमणसम्बन्धी एघारवटा नियात्राहरू समाविष्ट छन् । यसअघि प्रकाशित उनका नियात्रासङ्ग्रहहरू प्रशान्तमा छालहरूमा मेरो नेपाल (२०६१) र अनौठो मुलुक अनौठा अनुभूति (२०७१) मा जस्तै यस सङ्ग्रहमा पनि पाठकहरूले मीठो साहित्यका साथसाथै भ्रमण गरिएका स्थानहरूको रोचक वर्णन पाउनुहुनेछ । साहित्यिक कृति भएर पनि यसभित्र विकासम्बन्धी उनको उपयोगी र विज्ञतापूर्ण दृष्टिकोण पनि पाइन्छ ।
नेपाल, बेलाइत र अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययन गरेका विकास अर्थशास्त्री श्री भट्टराई तीन दशकअघिदेखि आर्थिक–सामाजिक विकाससँग सम्बन्धित विषयहरूमा नेपाल र विदेशमा अध्ययन–अनुसन्धान र परामर्श कार्यमा संलग्न छन् । उनी नेपालका यात्रासाहित्यकारहरूको प्रतिनिधि संस्था नियात्रा समाज नेपालको स्थापनाकालदेखि हालसम्म अध्यक्ष छन् । उनी नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष हुन् ।
"भट्टराईका यात्रावर्णनका अनेकौं विशेषताहरूमध्ये दुइटालाई चाहिँ मैले प्रमुख मानेको छु । पहिलो विशेषताअन्तर्गत उनी जहाँ गए पनि र जहाँ पुगे पनि नेपालको सम्झनालाई निरन्तर सँगै राखिछाड्छन् र त्यसै हुनाले लेखक हरेक स्थान, घटना, दृश्य र व्यक्तिसित साक्षात्कार हुनेबित्तिकै नेपालका त्यस्तै स्थान, घटना, दृश्य र व्यक्तिसित भावालोडित तुलना गर्न पुगिहाल्छन् । दोस्रो विशेषता चाहिँ आफूले। वर्णन गरेका पात्रहरूसँग होस् वा दृश्यहरूसँग होस् पाठकलाई समेत प्रभावित पार्दै त्यहाँ पुऱ्याउन सक्नु र साक्षात्कार गराएझै भावविह्वल तुल्याउन सक्नु हो ।” - डा तारानाथ शर्मा ('प्रशान्तका छालहरूमा मेरो नेपाल'को भूमिका, २०६१ वैशाख)।
"भट्टराईको भाषामा अत्यन्त सरलता छ । साहित्यइतरका पाठकले पनि भाषागत बोझिलोपना अनुभव गर्नुपर्दैन । ठाउँठाउँमा परेका उखान-टुक्काले भाषालाई माधुर्य प्रदान गरेका छन् ।” - राप्रउ पोखरेल (अभिव्यक्ति पूर्णाङ्क १२२, बैशाख २०६२)
“....स्वदेशका हिमायती चन्द्रप्रसाद भट्टराईलाई नेपालको मायाले पछ्याएकै हुन्छ । विभिन्न क्षेत्रको भ्रमणसँगै नेपालको सम्झनालाई गुथेर आकर्षक शैलीमा प्रस्तुत गर्ने कौशल उनलाई प्राप्त छ ।” - प्रा. गोपीकृष्ण शर्मा (गरिमा पूर्णाङ्क २७२, साउन २०६२)।
"भट्टराई सङटका, समस्याका, दुःखका, पीडाका भन्दा रमाइलो जगत्का पर्यटकको रूपमा चिनिन्छन् । उनी गोचर जगत्का योजना, व्यवस्था र प्राकृतिक मोहनीका नियात्राकार हुन् ।" - प्रा. कृष्ण गौतम (समष्टि पूर्णाङ्क ६५, मङ्सिर-पुस २०६५)
"भट्टराईमा आफ्नो विषयवस्तुको गहिराइसम्म पुगेर यथार्थको आलोकमा त्यसलाई पर्गेल्ने क्षमता भएकाले उनका प्रत्येक रचनामा आत्मविश्वासपूर्ण अभिव्यक्तिको छनक भेट्न सकिन्छ ।” - हरि अधिकारी (अभिव्यक्ति पूर्णाङ्क १३९, पुस-माघ २०६५)
"भट्टराई आख्यानात्मकताको प्रवल चेतनामा निबन्धगत अनुभूति सम्प्रेषण गर्ने नियात्राकार हुन् । .....उनी सरल, सहज कलात्मक एवं कतै व्यङ्ग्यात्मक भाषामा यात्राका विषयवस्तुलाई पाठकसमक्ष प्रस्तुत गर्ने नियात्राकार हुन् ।” - प्रा. राजेन्द्र सुवेदी (गरिमा पूर्णाङ ३१४, माघ २०६५)
"नियात्राकार भट्टराईमा बिम्बात्मकता सिर्जना गर्ने क्षमता छ ।" - नेत्र एटम (शब्द संयोजन पूर्णाङ्क ६३, साउन २०६६)
"शब्दका माध्यमबाट आफू पुगेको घुमेको संसारमा पाठकलाई पनि पुयाउन सक्ने, आफूले भेटेका मान्छेहरू र देखेका दृश्यहरूसित पाठकलाई साक्षात्कारको अनुभूति गराउन सक्ने लेखकको कलमको सामर्थ्यलाई मान्नै पर्छ ।" - डा. ज्ञानू पाण्डे (रचना पूर्णाङ्क १०३, भदौ-असोज २०६६)
“राष्ट्रप्रेम, मातृप्रेम, सहरभन्दा बढी गाउँप्रतिको मोह पाइने यिनका रचनामा जताततै नेपालको चित्र सल्बलाएको देखिन्छ । निबन्ध पढ्दै जाँदा पाठक स्वयंले झलझली देखिरहेजस्तो लाग्ने गरी वर्णन गर्ने खुबी लेखकमा रहेको छ ।” - डा. खगेन्द्रप्रसाद लुइटेल (मिर्मिरे, पूर्णाङ्क २९७, जेठ २०६७)
“शब्दको क्यामेराबाट मान्छेको जीवन खिच्ने उनको शैली आकर्षक छ । भट्टराईका नियात्रा पढिरहँदा लैनसिंह बाङदेलको प्रसिद्ध यात्रा निबन्ध 'रोमको एउटा फूल र प्यारिसको एउटा काँडा' को सम्झना गराउँछ ।” - राजेन्द्र पराजुली (हिमाल साप्ताहिक खबरपत्रिका ११-१७ साउन २०७१)
Your review helps others make informed decisions
Click on a star to start your review