Delivery in 1-3 days
लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे, जुलुसका पक्षमा रहे । लेखनमार्फत भुइँमान्छेका सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुःख–सुखसँग जोडिएका लेखक तिनका भौतिक सरसङ्गतबाट वञ्चित हुने खण्ड आइलाग्यो । लकडाउन नामक उनकै भाषामा ‘प्याकिसबन्दी’ सिर्जित बेचैनी, छटपटी, आक्रोश, हताशा र क्रोधहरुको सङ्ग्रह हो यो, कोरोना कैरन । यो संग्रौलाका अनुभव र अनुभूतिको निजी शृङ्खला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो ।
सत्ताले नागरिकलाई धोका देओस् र त्यो संग्रौलाको कटाक्ष र प्रहारबाट जोगियोस्, यो हुन सक्ने कुरा होइन । साइनबोर्डमा कम्युनिस्ट शब्द झुन्ड्याएको, गफमा समाजवादउन्मुख सत्ताले कोरोनाकालमा के–के जनद्वेषी काम गर्र्यो; कसरी नागरिकलाई घरमा थुनेर आफू चाहिं भ्रष्टाचार र पतनको प्रदेशमा फुक्काफाल डुल्दै हिंड्यो; कुन पाषाण हृदयले सर्वसाधारणलाई जीवन–मरणको दोसाँधमा छोडेर आफ्नो सर्वकालीन जनमारा धन्दामा लिप्त भयो; संग्रौलाले रिट्ठो नबिराई एक–एक हिसाब राखेका छन् । र, मान्छेविरोधी ठूलठूला मान्छेहरुलाई यसरी प्रहार गरेका छन्, आम मान्छेले स्वादले भन्नेछन्– ‘संग्रौलाले क्या ठीक लेखे !’
भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो दुखियाहरुको खबरमाला हो ।
–विनोदविक्रम केसी
Your review helps others make informed decisions
Click on a star to start your review