४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तम शान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई उत्तमशान्ति पुरस्कारद्धारा सम्मानित गर्दै आएको छ ।
Uttam Kunwar Smarak Puraskar Guthi, Kathmandu
Establised in 2045 B.S
डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ कृतिलाई 2079 को उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिअनुसार सो कृतिले अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश सहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई कृतिले अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार केसीलाई ताम्रपत्र र नगद एक लाख सहित पुरस्कृत गर्न लागेको हो ।
गुठीका सभापति डा. पार्थिवेश्वर तिमिल्सिनाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा गुठीले २०४४ सालदेखि निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई सो पुरस्कार प्रदान गर्ने बताइएको छ ।
-२०८० जेठ १२ गते
गिरीश गिरीले सहलेखन गरेको पुस्तक ‘सत्यमोहन’लाई २०७८ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।
२०७८ सालभरि प्रकाशित गैरआख्यानका कृतिहरूलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहनुका साथै शैलीगत दृष्टिले पनि रोचकताले ओतप्रोत गिरीश गिरिद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको छ ।
भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको छ । गत जेठ १२ मा प्रदान गरिनु पर्ने कार्यक्रम कोविड-२०१९ का कारणले ढिलो हुन गई शनिवार प्रदान गरिएको हो ।
‘विगत र बाडुली’मा लेखक भारती गौतमले कतिपय निजात्मक अनुभूतिलाई विचार, कला र संवेदना मार्फत समकालीन समाज र त्यसभित्रका मानवीय सम्बन्धका अनेक आयामहरूको चर्चा गर्नुभएको छ । सरल भाषा मार्फत जीवन जगतका जटिल कुराहरूलाई अभिव्यक्त गर्न सफल भएवापत लेखक भारती गौतमलाई २०७७ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको व्यहोरा गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।