Delivery in 1-3 days
यस किताबमा भवानीजीले हामी पाठकलाई सामान्य अवस्थामा मानिस नपुग्ने, हावा पातलो भएका अग्ला हिमाली भेगमा डुलाइदिनुहुन्छ । जुनसुकै वेला ढुङ्गा खस्ने, वर्णन सुन्दै आङ सिरिङ्ग हुने सगरमाथा क्षेत्रको भीरको बाटो हिँडाइदिनुहुन्छ । बलियो जस्तो देखिने तर टेक्दा खसेर ज्यान जानसक्ने हिउँ खाडलमा दौडाइदिनुहुन्छ। पढ्दा पनि सास रोकिने ठाउँमा पुऱ्याइदिनुहुन्छ । दिल खोलेर रमाउनुपर्ने गरीका सुन्दर हिमाल तथा ठोस, तरल अनि वायुका भेषमा रहेको पानी अनि भूदृश्य देखाइदिनुहुन्छ । कालका मुखमा पुग्नै लागेका मान्छे र तिनलाई बचाउन कोशिश गर्ने मान्छेसँग भेट गराइदिनुहुन्छ । मान्छेले गर्नुपर्ने व्यवहार गर्न जान्न बाँकी भएका मान्छेसँग भेट गराइदिनुहुन्छ । त्यस्ता मान्छेसँग रिस उठाइदिनुहुन्छ । भगवान्जस्ता मान्छेसँग भेट गराइदिनुहुन्छ र पाठकलाई ढुक्क बनाइदिनुहुन्छ । पैंतालीस दिनसम्म आगो बाल्न नहुने ठाउँ पुऱ्याइदिनुहुन्छ र त्यस ठाउँको कथा कहनुहुन्छ । आरोहीका कथा र आरोहण गर्दा उतै सगरमाथामै बिलाएकाहरूका कथा हजुरआमाले नातिनातिनालाई भनेझैँ गरी सुनाउनुहुन्छ । अप्ठ्यारो यात्राको वर्णन बडो सरल तरिकाले गरिदिनुहुन्छ ।
दुःख कष्ट गरेर, ज्यान दाउमा राखेर आफू हिँडनुहुन्छ । घरमै बसेका हामी अल्छी पाठकलाई त्यस यात्राको आनन्द लिन सक्ने बनाउनुहुन्छ । यात्राको दुःख कष्ट जति आफू व्यहोर्नुहुन्छ, अनि हाम्रा भागमा सुखद अनुभूति मात्र पस्किदिनुहुन्छ । कथा भन्नेले कालको माला लगाएर सुन्नेलाई आनन्दको माला पहिऱ्याइदिने साहसी र गुणी लेखकप्रति आभार ! हिमाल पुग्न नसक्ने हामी पाठकका लागि हिमाल चढेको अनुभव हाम्रो घरैमा पठाइदिएको गुन सदा सम्झनेछौँ ।
Your review helps others make informed decisions
Click on a star to start your review