‘जीवन जिउने काइदा’ का लेखक को तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ आउँदै

केहि वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन् । पब्लिकेशन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईको आगामी पुस्तकको नाम हुनेछ,वरिपरि नै सर्वोपरि’ ।

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन्स मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन् ।

प्रसाई अमेरिकामा स्वास्थ्य सम्वन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् । उनले दुई दशक भन्दा बढि समयदेखी जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन् । प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन् ।

यसअघिको पुस्तकहरुमा खानपान र स्वस्थ्य जीवनशैली सिकाउने प्रसाईले अबको पुस्तकमा भने पाठकहरुलाई हामी र हाम्रा वरपरको प्रकृतिबारे वर्णन गर्नेछन् । उनको मन्त्र हुनेछ –

जोगाएर राखौँ

हावामा अक्सिजन

जमिनमाथि वनस्पति

जमिनमुनि पानी

किनकि

यिनैमा टिकेको हुन्छ

हामी सबैको जिन्दगानी 

पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् ।

हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।

पहिले प्रकाशित उनका दुइ पुस्तकमा झैं विज्ञानले सिकाएका गहन कुराहरुलाई प्रसाइले अत्यन्तै सरल भाषामा बयान गरिदिएर यो पुस्तक सबै किसिमका पाठकको निम्ति संग्रहणीय बनाइदिएका छन् । हाम्रो शरिरलाई आवश्यक पोषक तत्वको बयान गर्दै उनले हाम्रै वरपरका तरुल, तामा, गुन्द्रुक, मस्यौरा, साग र सिस्नु लगायत को वर्णन पुस्तकमा गरेका छन् ।

गुन्द्रुक जस्ता खानेकुराको बयान गर्दै उनी भन्छन्, ‘फर्मेन्टेसनबाट खानेकुरा लामो समयसम्म खान योग्य हुने अनि स्वाद र पोषक तत्वहरू पनि थपिने भएकाले यस्ता खानेकुरा प्राचीनकाल देखि लोकप्रिय भएका हुन् ।’

भुमण्डलीकरणले केहि बेफाइदाहरु पनि दिएको सन्दर्भ निकाल्दै उनले बहुराष्ट्रिय खानपानको प्रचलनसँगै स्थानीय भोजन र प्रविधिहरु हराउँदै गएकामा चिन्ता पनि प्रकट गरेका छन् । सूर्यमुखी र मकैका तेलको बढ्दो खपतसँगै हाम्रा सिलाम र च्युरीका तेलहरु हराएका सन्दर्भ पनि उल्लेख गरिएको छ ।

प्रकृतिले हामीलाई दिएको अक्सिजनकै कुराकानी गर्दा उनी यो कसरी उत्पादन हुन्छ भन्ने देखि लिएर कस्तो किसिमको पानीमा कति मात्रामा अक्सिजन पाइन्छ जस्तो जानकारी पनि उनले उल्लेख गरेका छन् । पृथ्वीले पाइरहेको कुल अक्सिजन मध्ये दुइ तिहाइभन्दा बढी सुक्ष्म जीवहरुले उत्पादन गरिरहेको उनी बताउँछन् ।

यसैका आधारमा उनी भन्छन्, ‘यो जगत् विशाल आकार भएकाहरूबाट होइन, ससानाबाट नियन्त्रित छ ।’

प्रसाईले आफ्नो अनुसन्धानबाट फेला पारेका कुराहरु पनि पुस्तकमा उल्लेख गरेका छन् । जस्तो कि शरिरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउने फाइटोकेमिकल र पोलिफेनोल हाम्रो शरिरले कहाँबाट कसरी प्राप्त गर्छ देखि लिएर त्यस्तो गुणकारी तत्व कतिवटा बनस्पतिमा पाइन्छ भन्ने कुरा समेत उनले पुस्तकमा उल्लेख गरेका छन् ।

मानवीय गल्तीले गर्दा दही र तोफुजस्ता लाभकारी खाद्यपदार्थहरु कहिले र कसरी उत्पादन हुनपुगेको थियो भन्ने रोचक जानकारीहरु पनि पुस्तकमा छन् ।

‘मेरा अघिल्ला पुस्तकहरु जीवनशैली र खानपिनमा मात्र केन्द्रित थियो,’ लेखक प्रसाई भन्छन्, ‘यसपटक भने हामी जस्तो वातावरणले घेरिन्छौं त्यस्तै हुन्छौं भन्ने व्यापक अर्थमा मानव जीवनलाई जोड्ने कोशिश गरेको छु ।’

‘बदलिँदो समयसँगै हाम्रो खानपान र जीवनशैलीमा आइरहेको परिवर्तन र त्यसका सकारात्मक नकारात्मक पक्षहरु केलाइएका पुस्तकलाई पाठकहरुले औधी मनपराएको पायौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘प्रसाइको पुस्तक निम्ति पाठक माँग सँगै यो तेश्रो कृति जेठको पहिलो साता सार्वजनिक गर्ने भएका छौं ।’