सात दशकदेखि लगातार अस्थिर राजनीतिको चपेटामा परेको नेपाल अँझैसम्म पनि यसबाट उम्कन सकेको छैन । देशको राजनीति ठीक नभएसम्म देश उँभो लाग्न सक्दैन । पटक पटक अनेकथरि शाशन प्रणालीहरू नेपाली जनतामाथि थोपरेर प्रयोग गर्दा पनि आज सम्म कुनै पनि प्रणालीले आशातित नतिजा दिन सकेन । त्यसमा प्रणालीको मात्र दोष नभएर पात्रको पनि निकै ठूलो भूमिका रह्यो । पात्र र प्रणाली दुवै ठीक नहुँदा नेपाल झन् पछि झन् अविकसित, पर निर्भर र अशान्त हुन पुग्यो । सात दशकको कालखण्डमा एक दलीय पञ्चायत होस् कि बहुदलीय व्यवस्था अन्तर्गतका राजनैतिक दलहरू हुन् सबैले देश र जनताकोभन्दा पनि आफ्नो र दलको हितको बारेमा सोचे । अँझ २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि त दलहरूले राजनीतिलाई पैसा आर्जन गर्ने व्यवसाय नै बनाए । अहिले तिनै दलहरू एकापसमा मिलेर राजनीतिमा 'सिन्डिकेट' खडा गरेका छन् । उनीहरूको त्यो 'सिन्डिकेट' नतोड्दासम्म र देशको राजनीतिमा नयाँ जोश जाँगर भएका श्रृजनशील, इमानदार र देशभक्त युवाहरूले स्थान नपाउँदासम्म नेपालमा विकास, सुशासन र समृद्धि हुने देखिँदैन ।
त्यसैले अहिलेका राजनैतिक अस्तव्यस्तता, भ्रष्ट्राचार, दण्डहीनता, अनैतिकताबाट देशलाई बाहिर निकालेर शान्ति, विकास, स्थिरता र सुशासनको बाटोमा डोर्याउन अहिलेको प्रणाली र पात्रहरू दुवैबाट छुटकारा पाउनु अपरिहार्य भैसकेको छ । त्यही उद्देश्य प्राप्तिको लागि अब नेपालमा संघीयता र बहुदल प्रणाली खारेज गरी निर्दलीयता सहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपति अनि निर्दलीय सार्वभौम संसद र स्वतन्त्र न्यायपालिकाको आवश्यकता छ । यो प्रणालीले एकतर्फ सक्षम र इमानदार युवाहरूलाई राजनीतिमा आकर्षण गर्नेछ भने अर्कोतिर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिचमा शक्ति सन्तुलन ल्याएर राजनैतिक स्थिरताको प्रत्याभुति गर्नेछ । यसरी पात्र र प्रणाली दुवै सही दिशामा अगाडि बढ्न बाध्य भएपछि नेपाल स्वतः सुशासन र समृद्धिको नयाँ युगमा प्रवेश गर्नेछ ।
Your review helps others make informed decisions
Click on a star to start your review