Delivery in 1-3 days
जीवन भोगाइका कथा सम्भ्रान्तका पनि हुन्छन्, भुइँमान्छेका पनि । धेरैलाई लाग्न सक्छ, आवरणमा सम्भ्रान्त देखिने मान्छेसँग दुःखका कथा हुँदैनन्, लेख्न योग्य कुनै करुण र व्यथा हुँदैनन् । तर यस उपन्यासको मूल पात्र जो आफैँमा एक सम्भ्रान्त हो, ऊ भन्छ, “पात्र बनिदिनुपर्छ, कथा आफैँ बन्दो रहेछ ।”
यस्तै एक सम्भ्रान्त वृद्धको कथा हो 'विमुक्ति' । अस्ताचलको सूर्य जस्तो ऊ आफ्नो विशाल बङ्गलाको बरण्डामा एक्लै चिसो वर्तमान बाँच्छ । मृत्युअघि त्यही पात्र आफ्नो डायरीमा लेख्छ, “मैले विशिष्ट चिताको पुष्पासनमा खाक बन्नेहरू देखेको छु । राष्ट्रिय सम्मानमा भव्य अन्त्येष्टि गरेको पनि हेरेको छु । कसैको कोही नभएर एक्लैएक्लै खरानी बन्नेहरू भेटेको छु । कसैकसैको रोइदिने कोही नदेखेर कहिलेकहीँ आफैँ रोइदिएको पनि छु । जीवनको अन्त्यमा रोइदिने कोही त चाहिने नै रहेछ।”
उपन्यासमा वर्णित वर्तमान अमुक पात्रको मात्र होइन, सिङ्गो समकालीन समाजको पनि हो । त्यसलाई देख्नेहरूले देखेका छन्, कसैकसैले लेखेका पनि छन् । देख्नु र लेख्नुभन्दा त्यो जीवन भोग्नु कति दुष्कर छ कति ! त्यही भोगाइको एक कारुणिक कथाचित्र हो 'विमुक्ति' ।
Your review helps others make informed decisions
Click on a star to start your review