दयाराम श्रेष्ठ नेपाली समालोचनाका क्षेत्रमा सुप्रसिद्ध नाम हो । धनकुटामा जन्मिएका श्रेष्ठले नेपाली विषयको कथा विधामा विद्यावारिधि गरेका छन् । नेपाली साहित्यको कथाविधालाई माथि उठाउन श्रेष्ठको अतुलनीय योगदान रहेको छ । धनकुटा कलेजबाट प्राध्यापन कार्य प्रारम्भ गरेका श्रेष्ठ त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेर सेवानिवृत्त जीवन बिताइरहेका छन् । आफ्नो सेवानिवृत्त जीवनलाई समेत समालोचना र अनुसन्धानका क्षेत्रमा समर्पित गरिरहेका श्रेष्ठका समालोचनात्मक तथा अनुसन्धानात्मक कृति प्राप्त गरी नेपाली समालोचना दिनानुदिन समृद्ध बन्दै गएको छ । नेपालको राष्ट्रिय झण्डा कृतिका लागि २०५३ सालको मदन पुरस्कार समेत प्राप्त गरेका श्रेष्ठका मौलिक सन्दर्भ र मूल्याङ्कन (२०२५), नेपाली साहित्यका केही पृष्ठ (२०३२), गोरखापत्र – विवरणात्मक सूचीपत्र (२०३२), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४), प्रारम्भिक कालको नेपाली साहित्य – इतिहास र परम्परा (२०३८), शाहवंश र नेपाली साहित्य (२०३९), रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१), नेपाली कथा भाग ४ (२०५७), साहित्यको इतिहास – सिद्धान्त र सन्दर्भ (२०६१), नेपाली कथा र कथाकार (२०७०), साहित्यको अनुसन्धान व्यवस्थापन (अनुसन्धान दर्शन २०७७) आदि कृति प्रकाशन गरी श्रेष्ठले नेपाली साहित्य समालोचनाको श्रीवृद्धि गरेका छन् ।
उनले कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका छन्। उनको पुसत्क 'नेपालको राष्ट्रिय झण्डा' ले विसं २०५३ को मदन पुरस्कार पनि पाएको थियो।