थारु समुदायमा उज्यालो छर्दै "टुकी"

शुक्रनगरमा जन्मी हुर्किएका मनोज अज्ञात (चौधरी )द्वारा लिखित चितवनमा बसोबास गर्ने थारु समुदायको पृष्ठभूमि बोकेको नितान्त सामाजिक उपन्यास हो टुकी । थारु समुदायभित्रका धर्म, संस्कृति, रितिरिवाज, परम्परा, भेषभूषा, चाडपर्व, सामाजिक परिवेश, क्रियाकलाप आदिलाई समेटी तयार पारिएको विविध कथाव्यथा, घटना परिघटनाहरुको संगालो हो टुकी । जुन एक शताब्दीदेखि हालसम्मको यथार्थपरक जीवन भोगाइ पनि हो । पहिचानको आवाज उग्र हुँदै गइरहेको यो परिवेशमा मनोजले एउटा समावेशी, साधारण र समयसापेक्ष उपन्यास लिएर आएका छन्।

‘टुकी’ को सहाराले मनोजले आफ्नो (थारु) समुदायको इतिहास, संस्कृति र बर्तमान अवस्थामाथि प्रकाश पार्ने प्रयास गरेका छन् । र उनको यो प्रयास सार्थक पनि भएको छ । समयको मागलाई असाध्यै सुन्दर तवरले सम्बोधन गरेका छन् उनले ‘टुकी’ मा । अनेक बहानामा विभाजित हुन खोज्ने समाजलाई मनोजले मानवताको कसिमा बाँधिन पहल गरेका छन् । समदृष्टीबाट मात्रै सहअस्तित्व संभव हुने सन्देश ‘टुकी’ ले दिएको छ । यसर्थ मनोज अज्ञातद्वारा लिखित ‘टुकी’ प्रेमको पुलिन्दा पनि हो ।

यो किताबमा टुकीको पालामा घटेका घटनाहरुलाई एकमुष्ट बाँधिएको छ । किताब लेखिरहँदा किताबको मुख्यपात्र आमोई र टुकी उस्ताउस्तै लाग्न थाल्यो । जसरी टुकी आफू डढेर आफ्ना वरपरकालाई उज्यालो छर्थ्यो, आमोईको चरित्र चित्रणपनि त्यस्तै लाग्थ्यो । त्यसैले यो किताबको नाम टुकी रहन गएको लेखक बताउँछन ।

मनोज आधुनिक युवा हुन् । पेशाले शिक्षक उनी प्यासनले रेडियो पत्रकार हुन् । उनले बजार व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । यद्यपि आफ्नो मौलिक संस्कृतिप्रतिको उनको ज्ञान र लगावभने लोभलाग्दो छ । उनले उपन्यासमा आफ्नो इतिहास र संस्कृतिलाई लिपिबद्ध गरेका छन् । पश्चिम चितवनमा बसोबास गर्ने थारुहरुको साझा कहानी हो ‘टुकी’ । थारु समुदायको इतिहासको अभिलेखिकरण पनि हो यो । थारु समुदायको इतिहास र संस्कृति अब अमर रहनेछ । यहि कृतिका कारण मनोज पनि अमर रहनेछन् ।

उपन्यासमा थारुहरुले वर्षभरि मनाउने चाँडपर्वको फेहरिस्त प्रस्तुत गरिएको छ । जितिया पर्वमा सुनिने मस्वासी बुढीको कथादेखी लिएर यमोषा पितृ औशीको विस्तारमा वर्णन गरिएको छ । थारुहरुले शक्तिशाली देवताका रुपमा पुज्ने विक्रमबाबाको प्रसङ्गपनि उपन्यासमा समेटिएको छ । थारुहरुको नयाँ वर्ष खिचरा, होलिमा नाँचिने लाठी नाँच, तिहार अर्थात सोहराईमा गाइने लोला गीतको प्रसङ्ग पनि छ । भैलिमा नाँचिने झुमरा नाँच, रोपाइँमा गाइने असारे गीतका साथै थारु समुदायको विवाहविशेष गीत एवं दुलहीलाई गृह प्रवेश गराउँदा पुर्‍याउने विधीको पनि मिहिनरुपमा वर्णन गरिएको छ । त्यस्तै थारु समुदायका खाद्य परिकारको पनि विशेष चर्चा उपन्यासमा छ ।

जति पढ्न आनन्द छ टुकी त्यति नै सुन्न पनि ! उपन्यास टुकीलाई अच्युत घिमिरेले आफ्नो मन्त्रमुग्ध आवाजमा बाचन गरेका छन् । टुकीलाई बिशेष कारणले पढ्न नपाएका पाठकलाई बरदान हुनसक्छ टुकी बाचन ।