चैतन्य मिश्रको पुस्तक 'लोकतन्त्र र आजको माक्र्सवाद’ भदौदेखि बजारमा ।

समाजशास्त्री प्राडा चैतन्य मिश्रको गैर–आख्यान पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ प्रकाशन हुने भएको छ । गणतन्त्र दिवसको सन्दर्भ पार्दै प्रकाशन संस्था बुक–हिल पब्लिकेसनले पुस्तकको आवरण सार्वजनिक गर्दै भनेको छ, 'नेपालको राजनीतिक उतार–चढावलाई समाजशास्त्रीय दृष्टिबाट हेर्दा देखिएका विषय पुस्तकमा समावेश छन् ।’

पुस्तकबारे लेखक मिश्र भन्छन्, 'समाजशास्त्रको मेरो रोजाइ र गराइको थलो भनेको एक किसिमले ‘परम्परागत समाजशास्त्र’अन्तर्गत अर्थतन्त्र, राजनीति, इतिहासको साँधसिमाना जोडिएको र जेलिएको थलो बन्न पुग्यो । र, बृहत् विश्वको लामो इतिहासमा के–के कसरी, कुन कारणले भयो वा भएन भन्ने सैद्धान्तिक अध्ययन र विश्लेषणको समेत आधारमा नेपालको विगतबारे, खास गरेर वर्तमान समाज, अर्थतन्त्र, राजनीति, विकासबारे खोजी पस्ने काम भयो । २०–२५ वर्षभित्र नेपाल जुन राजनीतिक उथलपुथलबाट गुज्रियो, त्यसैको परिणति हो यो पुस्तक । पुस्तकमा मैले लोकतन्त्रको जरोको रेखाङ्कन, माओवादी राजनीति र ‘जनयुद्ध, दलतन्त्र, सामाजिक लोकतन्त्र र सामाजिक लोकतन्त्रकै पक्षपोषण गर्ने व्रmममा समेत माक्र्सवादी, सोभियत, चिनियाँलगायत अन्य केही खाले 'समाजवाद’ र साम्यवादको खण्डन गर्ने प्रयास गरेको छु ।’

पुस्तकका सम्पादक राजेन्द्र महर्जन पुस्तकबारे भन्छन्, 'एकात्मक निर्दलीय पञ्चायती व्यवस्थादेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाली राजनीतिको तीव्र रूपान्तरण, बदलिँदो नेपाली राजनीतिको मियो बनेको राजनीतिक लोकतन्त्रका आर्थिक–सामाजिक जरा खोतल्ने र भावी राजनीतिक–आर्थिक–सांस्कृतिक दिशा तय गर्ने आशयतिर केन्द्रित रहेको यो किताबले मूलतः लोकतन्त्र र पुँजीवादबीचको अन्तरसम्बन्ध र केही हदसम्म अन्तरद्वन्द्वलाई खुट्याउँदै ‘सामाजिक लोकतन्त्र’को बाटो पहिल्याउन खोजेको छ ।’
त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष अध्यापन गरेका मिश्र हालै नीति अनुसन्धान प्रतिष्ठान (पोलिसी रिसर्च इन्स्टिच्युट) को कार्यकारी अध्यक्षबाट राजीनामा दिएर चर्चामा छन् ।

सामान्य गाता र मोटो गातामा कूल ४३२ पृष्ठ रहेको पुस्तक असारमा सार्वजनिक हुनेछ ।