
प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीहरूमाझ प्रस्तुत गरेका छन् । शुक्रबार राजधानीको शिल्पी थिएटरमा बुकहिल पब्लिकेशनले शुरुवात गरेको साङ्गीतिक कार्यक्रम 'बुकहिल ब्यालेड्स'को पहिलो शृङ्खला 'बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन'मा श्रेष्ठले आफ्ना डेढ दर्जन गीतहरू फरक शैलीमा प्रस्तुत गरेका हुन् ।
%20(1).jpg)
वि.सं. २०२५ साल पुस १ गते औपचारिक रूपमा गाएको गीत 'म पत्थरको देवता होइन'बाट शुरु भएको साङ्गीतिक प्रस्तुतिमा उनले हुँ यात्री एउटा, कति कमजोर रहेछ भाग्य, झिरमा उनिनु एउटा कुरा, हररात सपनीमा एठन हुन्छ, मेरो आँखामा भरदिन, म त दूरदेखि आएँ, झस्किएछ मन मेरो लगायत गीतहरू कथासहित प्रस्तुत गरे । गीतकार भूपेन्द्र खड्काले दीप श्रेष्ठका गीतका कथा भन्दै श्रेष्ठलाई पुराना स्मृतिमा पुर्याएका थिए ।
%20(1)%20(1).jpg)
'भन्थी मेरी उनी' बोलको गीत गीतकार शिवशंकर थापाले कार्यक्रममा गीतको कथा सुनाउँदा कार्यक्रम रोचक बनेको थियो ।
%20(1).jpg)
रत्नशशेर थापाका शब्दमा अन्जला मास्केसँग गाएको युगल गीत चर्चित गायिका रेखा शाहसँग श्रेष्ठले प्रस्तुत गर्दा कार्यक्रममा रौनकता थपिएको थियो । श्रेष्ठकी जेठी छोरी दृष्टि श्रेष्ठले 'मुटुको ढोका खोलेर राख्छु' युगल र 'हररात मेरा निदहरू' एकल गायनमा प्रस्तुत गरिन् । साथै नव गायिका सम्वृद्धि परियारले तुलसी क्षेत्रीका शब्दमा दावा ग्याल्मोसँग दीप श्रेष्ठले युगल गाएको गीत 'भन भन न' प्रस्तुत गरिन् ।
%20(1).jpg)
गीतकार किरण खरेलका सामु तारादेवीसँग युगल गाएको गीत 'मेरो सपनाको सदनमा' सम्वृद्धि परियारसँग गाउँदा कार्यक्रम उपस्थित गीतकार खरेल भावुक बने । साथै गीतकार राजेन्द्र थापाको चर्चित गीत 'झिरमा उनिनु एउटा कुरा'को सङ्गीत सृजनाको २५ वर्षे कथा गीतकारका सामु श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा श्रेष्ठले भूपेन्द्र खड्काको शब्दमा 'कोही किन बरबाद हुन्छ कसैको माया'मा आफ्नै सङ्गीतमा पछिल्लो सृजनाको रूपमा प्रस्तुत गरेका थिए ।
%20(2).jpg)
बितेका कुराले बोलको गीतमा आफैँ हार्मोनिका बजाएर दर्शकलाई श्रेष्ठले सर्प्राइज दिएका थिए ।
माणिकमान सिंहको संयोजनमा वाद्यवादकहरूले किबोर्ड, तबला, अक्टोप्याड र गितारमा साथ दिएका थिए भने छिरिङ भुटियाले ध्वनी संयोजन गरेका थिए ।
%20(1)%20(1).jpg)
साहित्यसँगै सङ्गीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक २ महिनामा औपचारिकरूपमा 'बुकहिल ब्यालेड्स' आयोजना गर्ने जनाएको छ ।