प्रसिद्ध गायक एवं सङ्गीतकार सत्य-स्वरूपले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले आयोजना गर्ने साङ्गीतिक कार्यक्रम 'बुकहिल ब्यालेड्स'को दोस्रो शृङ्खलामा सत्य-स्वरूपले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
यही भदौ ७ गते आइतबार (अगस्ट २३) काठमाडौंको नेपाल पुलिस क्लबको 'द ब्लु प्याभेलियन हल'मा आयोजना हुने 'सत्य-स्वरूप : हजार सपना' कार्यक्रममा गायक एवं सङ्गीतकार दाजुभाइले पिता भजनशिरोमणि राष्ट्रगायक भक्तराज आचार्य र आफ्नो जीवनका आरोह-अवरोहका कथाका साथमा भक्तराज आचार्य र आफ्ना करिब २ दर्जन गीत प्रस्तुत गर्नेछन् । साहित्यसँगै सङ्गीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक २ महिनामा औपचारिकरूपमा 'बुकहिल ब्यालेड्स' आयोजना गर्दै आएको छ ।
नेपाली सङ्गीतमा साधना र सङ्गीतको अनुशासनबाट स्रोता-दर्शकको मन जितेका सत्य-स्वरूपले करिब ३ दशक गायन र सङ्गीतमा समय व्यतीत गरिसकेका छन् । भजनशिरोमणि भक्तराज आचार्यको साङ्गीतिक घरानालाई खास गायन र सङ्गीतमार्फत् प्रस्तुत गरिने यो कार्यक्रम शाब्दिक र सङ्गीत प्रधान हुनेछ ।
गीतभित्रका कथासँगै प्रस्तुत हुने गायनमा ८ जना वाद्यवादकले सत्य-स्वरूपलाई साथ दिनेछन् ।
६२० जना दर्शकका लागि मात्रै टिकटमा आयोजना हुन लागेको यो कार्यक्रमको थुप्रै डटकममार्फत टिकट बिक्री खुल्ला गरिएको छ ।
टिकटको लिंक :
https://thuprai.com/event/hajar-sapana-with-satya-swaroop/