सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरितगृह, लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरे। पुस्तक सार्वजनिक गर्दै उपराष्ट्रपति पुनले रोजगारका लागि गएका नेपालीले कतार निर्माण गर्न पुर्याएको योगदान र संघर्षलाई पुस्तकमा समेटिएको बताए। कतारको इतिहास, प्रगति, वैभव, विकासबारे लेखिएको यो पुस्तक नेपाल-कतार सम्बन्ध हेर्ने चश्मा भएको उपराष्ट्रपति पुनको भनाइ थियो।
पुस्तकबारे टिप्पणी गर्दै ओमनका लागि पूर्व राजदूत शर्मिला पराजुली ढकालले पुस्तकले समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा उजागर गरेको बताइन्।
लेखक मियाँले सन् २००७ को अप्रिलदेखि १ नोभेम्बर, २०२१ बीच लेखिएको यो पुस्तक कतार-नेपाल जोड्ने पुल भएको बताए। उनले नेपालीलाई श्रमिक नभएर समृद्ध कतारका सहयात्री भनेर टिप्पणी गरे। सन् २०२० सम्म कतारमा दुई हजार ५७७ जना नेपालीको ज्यान गइसकेकाले समृद्ध कतारमा नेपाली श्रमको उच्च मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो।
प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले यो पुस्तक नेपालीलाई कतार बुझ्न इन्साइक्लोपेडिया सरह भएको बताए।