Book Discussion on "Ujyalotira"

Book Discussion on "Ujyalotira"

Organized by Kitabkiro

Time
6:15 AM
Venue
Kathmandu

टीकाराम रेग्मीको नयाँ उपन्यास ‘उज्यालोतिर’बारे विमर्श गरिएको छ । काठमाडौंमा किताबकिरोले शनिबार आयोजना गरेको ‘विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ ?’ विषयक विमर्श कार्यक्रममा प्राडा. मनप्रसाद वाग्ले, प्राडा. विद्यानाथ कोइराला, डा. काशीराज पाण्डे र डा. मीनाक्षी दाहालले प्रस्तोता रोश्ना सुब्बासँग छलफल गरे ।

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे । साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे ।

उक्त अवसरमा डा. मीनाक्षी दाहालले विद्यार्थीहरुलाई आफूअनुकूलको बनाउन खोज्न नहुने बताइन् । आफ्नो क्षमताअनुसारको बन्न उनीहरुलाई स्वतन्त्र छाडिदिनुपर्ने उनको भनाइ छ । साथै डा. पाण्डेले रुपान्तरणमुखी शिक्षामा जोड दिनुपर्ने बताए । किताबको शीर्षक र उपशीर्षक जस्टिस गर्ने किसिमका रहेको उनको भनाइ छ । सबै शिक्षक र सबै अभिभावकले एक पटक पढ्नैपर्ने पुस्तक उज्यालोतिर रहेको उनले बताए ।

जीवनको ऊर्जावान् समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डो¥याउने प्रयास गरिएको छ । कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो, ‘उज्यालोतिर’ । प्रभावकारी सिकाइबारे बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ ।

‘टीकाराम रेग्मी यस्ता व्यक्ति हुुनुहुन्छ, जसले आफ्नो अनुभवलाई उपन्यासमा रूपान्तरण गरेर उज्यालोतिरको बाटोमा पूरै शैक्षिक समाजलाई डो-याउन प्रयास गर्नुभएको छ । खासगरी शिक्षण पेसालाई सकारात्मक चिन्तनमा प्रविष्ट गराउन यो उपन्यासबाट उहाँ सक्षम देखिनुभएको छ, पुस्तकबारे प्राडा. मनप्रसाद वाग्लेले भने, ‘यसमा कतिपय उहाँ आफैँले उपयोग गर्न खोजेर पनि अवसर नपाएका कुरा होलान्, कतिपय कुरा नवप्रवेशीका लागि उपयोगी होलान्, कतिपय नयाँ विचारको खोजमा रहेकालाई लक्षित होलान् तर धेरै चाहिँ पूरै शिक्षक समाजका लागि अपरिहार्य र गुणी कुरा छन् ।’

आफ्नो जीवनको स्वर्णकाल शिक्षणमा बिताएका यस्ता व्यक्तित्वबाट गरिएको यो प्रयास साह्रै सराहनीय रहेको उनले बताए ।