किरात राई लिम्बू समुदायमा जन्म विवाह र मृत्यु कर्म सम्पन्न गर्दा सदस्यलाई पहिचान दिने काम सांस्कृतिक रूपमै गरिन्छ। लिम्बू भाषाको ‘नाम’ खस नेपालीको घाम उही सूर्य हुन्। उनलाई देव मान्दै साक्षी राखेर परिवारमा भएका महत्वपूर्ण घटनाबारे जानकारी दिने सांस्कृतिक परम्परा छ। जीवनका महत्वपूर्ण कर्म गर्दा पितृका नाम, ठेगानाको उच्चारण अनिवार्य हुन्छ। यसरी मुन्धुमले किरात जनको परिचय गर्दा पैत्रिक अस्मितासितको सम्बन्ध गाँस्ने काम गर्दछ।
यसरी नै वंशावलीको विकास भएको अनुमान गर्न गाह्रो पर्दैन। हिजो सांस्कृतिक प्रयोजनका लागि वंशावली जरूरी थिए। अब यो मानवशास्त्रको क्षेत्रभित्र परेपछि वंशावलीले पितृसितको सम्बन्ध मात्र देखाएर पुग्दैन। यसले त किन कहिले कसरी भन्ने जिज्ञाशालाई पनि समाधान गर्ने क्षमता राख्नु पर्दछ। त्यसैले वंशावली भनेको पितृहरूको पुस्तावलीको पुलिन्दा मात्र नभएर तिनका अतीतका ब्याख्या तथ्य र प्रमाणसहित गरिदिनुपर्दछ। यही प्रयास प्रस्तुत वंशावलीमा भएको छ। सारांशमा, अतीत र वर्तमानका सत्तामीमांसा (Ontology) का अँध्यारा पाटालाई ज्ञानमीमांसा (Epistemology) र मूल्यमीमांसा (Axiology) का प्रकाशद्वारा ब्याख्या मात्र नभएर पुनःब्याख्या पनि गरिएको छ।
हुन पनि विगतको अवकलोकन बिना मानिसको वर्तमान बुझिँदैन र भविश्य पनि देखिदैन। मुन्धुम वाचन गर्दै जाँदा मानिसका थर उत्पत्ति भएको ठाउँ माङगेना यक र त्यसपूर्वको पृष्ठभूमिमा पुगिन्छ। मौखिक रूपमा प्रचलित कतिपय ज्ञानलाई इतिहास र वंशावलीले पनि समेट्दै आएका छन्। मानव जातिले अर्जित गरेको यिनै ज्ञानमय धरातलमा अनुसन्धानको विधि टेकेर लेखकले फयङ साँबा वंशावलीउपर कलम चलाएको हो।
ऐतिहासिक घटनाक्रमले बताएअनुसार विक्रम् संवत १३८८ सालमा चौदण्डी चतरा अर्थात् कोशी बराह क्षेत्रबाट साँगुरी नाघेर किरात सेन वंशका सदस्यहरू समूहगत रूपमा लिम्बुवान प्रवेश गरे। कोही पोक्लाबाड तेह्रथूम त कोही याङरूप पाँचथर पुगेर सत्ता हात पारी क्षेत्र जमाएर फैलिए। त्यसमध्ये २ भाइ मेवाखोला तम्बरखोला लिम्वुवान पुगे। उनीहरूले पनि त्यसबेलाको राजनीतिक सामाजिक सांस्कृतिक वातावरण अनुसार आफूलाइ अनुकूलन गर्दै त्यहाँ आफ्नो क्षेत्र जमाएर बसोबास गरे।
कालान्तरमा उनीहरूले त्यहाँ क्रमसः साँबा र फयङ थर उपथर ग्रहण गर्दै लिम्बुवानमा लिम्बू थरमा बिलय भए। संखुवासभा वा खम्बुवानका एक हाँगा फयङ साँबा भने राई थरमा विलय भए। यिनीहरू हाल नेपालबाट फैलिएर भारत, भुटान र वेलायतमा बसोबास गर्दछन्।
विश्वमा छरिएका फयङ साँबा परिवारको वंशावली भित्र भौगोलिकता झल्किएको छ। उनीहरूको भूगोल र इतिहास केलाइएको छ। उनीहरूबीचको रक्तगत अनन्याका रेखाचित्र कोरिएका छन्। सामाजिक र सांस्कृतिक क्षेत्रका कतिपय अहम् र जटिल सवाललाई समेत अध्ययनले छिचोलेर पुनःब्याख्या गरिदिएको छ। अतः किरात मुन्धुम, इतिहास र संस्कृतिमा रूची राख्ने पाठक वा अनुसन्धानकर्तालाई यो सामग्री सहयोगी हुनेछ।
Your review helps others make informed decisions
Click on a star to start your review