Genre: | Non-fiction |
---|---|
Language : | Nepali |
Published: | October 2021 |
यसै पुस्तकबाट:
ज्ञान मानवीय सक्षमताको आधारका साथै शक्ति र उत्पादनका स्रोतहरू (भौतिक, वित्तीय, प्राविधिक र प्रशासकीय अधिकार) मध्ये अग्रणी मानिन्छ । अन्य स्रोतहरूका तुलनामा यो दीर्घजीवी हुन्छ। ज्ञानको सिर्जना, उपयोग र यसको आदानप्रदानबाट नवीन विषयको रहस्योद्घाटन भइरहेको हुन्छ एवं यसबाट उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग, संरक्षण र प्रवर्द्धन गर्न एवं राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ।
ज्ञानलाई औपचारिक शैक्षिक उपाधिमा सीमित गरिनु हुँदैन । उच्च शैक्षिक उपाधि नभए पनि स्वाध्ययन, व्यवहारसम्मत अनुभव, तार्किक क्षमता, परिष्कृत अन्तर्दृष्टि र घटनाको सूक्ष्म विश्लेषण गर्न सक्ने सीपले गर्दा समाजको अगुवाइ गर्न सक्षम भएका व्यक्तिहरू हामीले देखेकै छौँ । जान्नु वा थाहा पाउनुले मात्र कुनै प्रतिफल दिँदैन । जाने-बुझेका कुरालाई व्यवहार वा अभ्यासमा रूपान्तरण गर्ने क्षमताको विकास गर्नुपर्छ । ज्ञानको गहनता कार्यसम्पादनका माध्यमबाट अभिव्यक्त हुन्छ भने शिक्षा, प्रशिक्षण, कार्यअनुभव, संवाद, सहभागिता र सामाजिक अन्तरक्रियाका माध्यमबाट यसको परिमार्जन गरिन्छ।
ज्ञान मानिसको नैसर्गिक गुण हुनाले यसको उद्गम मानव चेतनासँगै भएको मान्न सकिन्छ। ज्ञानको सहयोग र प्रकृतिसँगको सहअस्तित्व र सहकार्यमा मानिसले आफ्ना तत्कालीन आवश्यकता पूरा गर्दै प्रगतिको मार्ग र ज्ञानको आधारलाई फराकिलो बनाउँदै लैजान सक्यो । ज्ञानको विकास र प्राणीको कल्याणबीचको अन्तरसम्बन्धले सभ्यताका साथै ज्ञानलाई समृद्ध बनाउने अवसर दियो।
अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गइरहेका साझा अनि समान प्रकृतिका मौसम परिवर्तन, आर्थिक सङ्कट, आतङ्ककारी गतिविधि, राज्य संयन्त्रको अस्थिरता र अप्रभावकारिता, आप्रवास तथा सङ्गठित अपराध आदि समस्याहरू समाधान गर्न ज्ञान सम्पदालाई परिष्कृत, यथार्थपरक र उद्देश्यमूलक बनाउनु र राष्ट्रहरूबीच आदानप्रदान हुनु आवश्यक छ।