Delivery in 1-3 days
गुरुङ सुशान्त प्रचलित रूढिको विपक्षमा सशक्त प्रतिवाद गर्ने होनहार समीक्षक हुन् । उनी टाउकोले टेकेर उभिएको इतिहासलाई खुट्टाले टेकाउने अभियानमा सचेतनापूर्वक हाम फालेका त्यस्तै प्रखर बुद्धिजीवी पनि हुन् । विचारको सङ्घर्षमा उनले बोकेको सम्पत्ति नवजागृत पहिचान, बहुसांस्कृतिक यथार्थ, रैथाने शौर्य र प्रगतिशील विचारप्रणालीको आधारस्तम्भ हो । यस पुस्तकले इतिहास, राजनीति, सौन्दर्यशास्त्र, समाजशास्त्र, साहित्यिक निबन्ध, समालोचना, कविता र आख्यानका समकालीन सन्दर्भहरूमा गम्भीर बहस र विमर्श उत्पन्न गर्ने सामर्थ्य बोकेको छ । र, त्यसरी नै नाटक र सिनेमाको क्षेत्रमा पनि मानक दृष्टिबोध स्थापना गर्न यो पुस्तक अग्रगामी साबित भएको छ । गुरुङ सुशान्तबाट म धेरै प्रभावित छु ।
- नारायण ढकाल
मेरा मित्र गुरुङ सुशान्त अत्यन्त उत्साही समीक्षक हुन् । डेढ दशकयता निर्विराम कविता, आख्यान, गैराख्यान, सिनेमा र नाटकको समीक्षा वा मन्थन गरिरहेका छन् । उनी समीक्षाका नाममा सारांश मात्र खिच्दैनन्, सैद्धान्तिक विश्लेषण पनि गर्छन् । उनको समीक्षा - कला र शिल्प सदैव पठनीय र प्रशंसनीय छ । समीक्षक फगत समीक्षक नभएर राम्रो पाठक वा दर्शक पनि हो भन्ने दृष्टान्त दिन इतर समीक्षा सफल छ । यी समीक्षा पढ्दा गमबुट र पन्जा लगाएर डुलिरहेका सफाइकर्मीको झझल्को आउँछ । गुरुङ सुशान्तमा विन्दुमा सिन्धु देख्ने द्रष्टाचेतना प्रशस्त छ । त्यसैले त शब्द-दृश्यका यी समीक्षा 'माइनर सर्जरी' साबित भएका छन् ।
- राजकुमार बानियाँ
Your review helps others make informed decisions
Click on a star to start your review