Delivery in 1-3 days
'आदिवासी मगरका विविध पक्षहरू पुस्तक वि.सं. २०७१ असारमा छापिएको हो । यो पुस्तकमा प्रस्तोता / अध्येताले वि.सं. २०७० को दशकमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठीहरूमा प्रस्तुत गरिएका अध्ययनमूलक कार्यपत्रहरू तथा आफ्नो विद्यावारिधि तयारीका क्रममा गरिएका अध्ययनहरूको प्रस्तुतिको संगालो हो । यसका कतिपय लेखहरू विभिन्न जर्नलहरूमा छापिइसकेका पनि छन् । यस पुस्तकमा मगरहरूको विविध पक्षहरूको समालोचनात्मक ढंगले प्रस्तुति गरिएको छ । विविध पक्षहरू भएकाले यसमा मगरहरूको उत्पत्ति, इतिहास, भाषा-संस्कृति, शिक्षा, स्वास्थ्य, सामाजिक आर्थिक, दर्शन लगायतका विविध विषयवस्तुहरू समेटिएका छन् । यहाँ प्रस्तुत भएका लेखहरू मगर सम्बन्धी भएका बौद्धिक बहसका उपजहरू हुन् । पुस्तकको अध्ययनबाट मगरहरूको बारेमा बहुआयामिक ढंगबाट गहिरो अध्ययन, पुरातात्विक अध्ययन, पुराना अभिलेखहरूको अध्ययन, मगर दर्शन, मगर सौन्दर्यशास्त्र, मगरहरूको अध्ययनका लागि मौलिक मगर मातृभाषाहरूको उपयोग, समालोचनात्मक चेतको खाँचो औँल्याउँनुका साथै थप अध्ययनको लागि मार्गदर्शन पनि गर्दछ । मगरहरूको शोधकार्यका लागि बृहत्तर र बहुआयामिक समग्रता (होलिस्टिक), आदिवासी शोधविधि, बौद्धिक उपनिवेशलाई डिकोलनाइज गर्ने दृष्टिकोणबाट मगरहरूले नै गरेमा वास्तविक तथ्यहरू आउन सक्नेतर्फ पनि इङ्गीत गर्दछ ।
निबुवाखर्क गा.वि.स. ३ (हाल परिवर्तित गल्याङ न.पा.-५) स्याङ्जामा जन्मनु भएका विष्णु कुमार सिङ्जालीमगरका शून्यताको आकाश (कथा / कविता संग्रह); मायाप्रीति ( कविता संग्रह) - २०६० ल्हुङ (मगर भाषामा कथा संग्रह) - २०६४; बड़ाप (मगर भाषामा कविता संग्रह) - २०६७; मगर ढुटआङ कुराकानी - २०६६ ( तेस्रो संस्करण २०६८, चौंथो संस्करण २०७२ ) ; मगर खाम / पाहू ला हो र ( मगर खाम पाङ र मगर ढुट सिकाउने पुस्तक) २०७१, आदिवासी मगरका विविध पक्षहरू २०७१ प्रकाशित भएका छन्। यसैगरी, गानमेट बाजी (मगर भाषामा कथा संग्रह) - २०७३, 'मगर भाषाहरूको वर्णमाला, स्तरीय तथा सरल लेखन-२०७७ हाम्रो मगर भाषा ( मगर ढुट, मगर खाम र मगर काइके सिकाउने पुस्तक) - २०७९ प्रकाशन भैसकेका छन् । उहाँका आधा दर्जन भन्दा बढी मगराँतका स्थाननाम, मगर सम्बन्धी, आदिवासी जनजाति सम्बन्धी विविध शोधमूलक पुस्तकहरू, साहित्यिक कृतिहरू प्रकाशनको चरणमा छन् । उहाँले मातृभाषाका कथा, कविता, निबन्ध, बालकथा तथा साहित्यका विविध विधाहरूको सम्पादन गरिसक्नु भएको छ । उहाँले मगर भाषा-साहित्यको अनुवादमा पनि योगदान दिनुभएको छ । उहाँ नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी, काठमाडौंबाट वि.सं. २०८० सालबाट प्रकाशन शुरु भएको "मिक" (मगर भाषामा साहित्यिक पत्रिका) को कार्यकारी सम्पादक पनि हुनुहुन्छ । हालमा उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य पनि हुनुहुन्छ । उहाँले आदिवासी मगरका विषयहरूमा र अन्य शोधमूलक दर्जनों कार्यपत्रहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीहरूमा प्रस्तुत गर्नुभएको छ । यसका साथै मगर, आदिवासी तथा भाषा-संस्कृति, समाजशास्त्र सम्बन्धी विविध गोष्ठीहरूको संयोजन गर्ने तथा आयोजनामा सरिक भई ज्ञान निर्माणको क्षेत्रमा योगदान गरिरहनु भएको छ । उहाँले शोधमाला ( मगर अध्ययन केन्द्रको जर्नल), मगर अध्ययन ( नेपालको आदिवासी मगरहरूबाट प्रकाशित जर्नल) जर्नलमा सम्पादकको भूमिका पनि निभाउनु भएको छ । नेपाल मगर संघ र मगरका संघसंस्थाहरूलाई प्राज्ञिक कार्य, नीति निर्माणमा सघाइरहनु भएको छ । उहाँले पालिकाहरूमा मगर भाषाको स्थानीय पाठ्यक्रम र मगर भाषामा पाठ्यपुस्तक लेखन तथा शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम विकास केन्द्रमा पनि मगर ढुटको पाठ्यपुस्तक लेखनमा पनि परामर्श सेवा दिनुभएको छ । लामो समय चिकित्सा तथा जनस्वास्थ्यमा योगदान दिनुभएका लेखकले राष्ट्रिय गौरवको आयोजना लगायतका विभिन्न आयोजनाहरूमा सामाजिक सुरक्षण विज्ञको रुपमा योगदान दिइसक्नु भएको छ । उहाँले मगर समाज र संस्कृतिमा स्वास्थ्य सम्बन्धी बुझाईलाई केन्द्रविन्दुमा राखेर (वि.सं. २०७७ फागुनमा) त्रि. वि.बाट विद्यावारिधि पनि गर्नुभएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review