Captain Bahadursingh Baral

कप्तान बहादुरसिंह बराल

कप्तान बहादुरसिंह बराल (वि.सं. १९४७ - २०१८ साल) एक प्रसिद्ध नेपाली कवि तथा तत्कालीन ब्रिटिस इन्डियन आर्मीको पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनका अवकाशप्राप्त सैनिक अधिकृत थिए । उनको पैतृक थलो पश्चिम नेपालको तत्कालीन पाल्पा (हाल नवलपुर) हो ।

उनका बुवा कप्तान सर्वजीत बराल ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ पाउने पहिलो नेपाली हुन् । साथै, सर्वजीतले ६ वर्षसम्म संयुक्त अधिराज्य बेलायतको बकिङ्गह्याम प्यालेसमा रानी भिक्टोरियाको पार्श्ववर्ती (एडीसी) भई काम गरे ।

कक्षा ८ उत्तीर्ण गरेका बहादुरसिंहले वि.सं. १९७० साल आषाढ ३ गते पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा सोझै कमिसन पाउने गरी जमदार पदमा भर्ती भए ।

उनी सुबेदार मेजर पदमा हुँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु भएकोले उनी पनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा सरिक भएका थिए । शत्रुको वेग जारी थियो । त्यो रोक्ने अभिप्रायले आर्मी हेडक्वार्टरबाट “हरेक पल्टनले आ-आफ्ना देशका राष्ट्रिय गीतका नारा गाएर बढ्नु” आदेश भयो । त्यहाँ ब्रिटिस पक्षीय विभिन्न मित्र देशका सैनिकले आ-आफ्ना देशका राष्ट्रिय नाराका गीत गाएर अघि बढे । तर गोर्खाली सैनिक भने ‘नजानेर’ अक्कबक्क परे । यद्यपि बराल आदि अधिकृतहरूले टामल टुमल पारी जेजे मुखमा आयो, गाउँदै अघि बढ्न लगाए । यस अज्ञानताको आँत पाएका अरू देशका मित्र अधिकृतले “तपाईंको देशमा राष्ट्रिय सांस्कृतिक ध्वनि ज्ञान बारेका पुस्तक छैन ?” भनी गरिएको ठट्टालाई अपमानपूर्वक रूपमा लिएर देशाभिमानी बहादुरसिंह बराल राणभूमिमै सहस्र धारा आँसु बगाउँदै नेपाली भाषामा ‘बरालको आँसु’ नामक पुस्तक तयार गर्ने अठोत गरे ।

उनी सन् १९३५ सालमा सेवानिवृत्त भए । त्यसपछि उनी सन् १९३५-१९३९ सालसम्म ‘अल इन्डिया गोर्खा एसोसिएसन’ को अध्यक्षका साथै ‘गोर्खा ढोगभेट/सत्संग प्रचारिणी सभा’ को अध्यक्ष भएर सामाजिक सुधारका कार्यमा क्रियाशील भए ।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वान अनुसार उनी पुन: पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा प्रवेश गरे र सो बटालियनको नेतृत्व गरी र सन् १९५२ सालसम्म काम गरे । यस अवधिमा उनलाई ‘मानार्थ कप्तान’ को दर्ज्यानी प्रदान गरियो । 

उनी ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ र ‘अर्डर अफ ब्रिटिस इन्डिया’ बाट विभूषित थिए ।

वि.सं. २००७ सालको क्रान्तिका क्रममा बहादुरसिंहले बीपी कोइराला लगायतका शीर्ष कांग्रेसी नेताहरूलाई आर्थिक सहयोग गर्दथे । सो क्रान्तिको प्रारम्भमा उनी र उनका कान्छा छोरा खड्गजीत बराल (पछि नेपाल प्रहरीका आइजिपी तथा म्यानमारको लागि आवासीय नेपाली राजदूत) भारतको बिहारको बैरगनियास्थित बैरगनिया सम्मेलनमा सहभागी भए ।


बाल्यकालदेखि गीत गाउन सिपालु भएकाले बहादुरसिंह बराललाई पल्टनमा ‘शङ्खस्वर’ भन्ने गरिन्थ्यो ।

‘बरालको आँसु’ उनीद्वारा नेपाली भाषामा रचित गीत, गजल र भजन लगायतका साहित्यरूपी पुष्पसौगात स्वरूप नेपाली साहित्यलाई भेटी चढाइएको सङ्ग्रह हो । यस कृतिमा १६८ वटा रचनाहरू सङ्कलित छन् । ६ भागमा विभाजित यस कृतिको पहिलो भागमा ४०, दोस्रो भागमा ४१, तेस्रो भागमा ४०, चौथो भागमा ७, पाँचौँ भागमा २० र छैटौँ २० वटा रचना सङ्कलित छन् । यसको परिशिष्टमा उनका अन्य कृति गोर्खाली ढोगभेट विधि र स्तुति भजनहरू पनि समावेश गरिएको छ । उनका रचनाहरूमा प्रेमप्रणयमूलक/रागात्मक एवम् प्रणयेतर/रागेतर दुवै प्रकारको विषयवस्तु, भाव वा विचारको प्रयोग गरिएको पाइन्छ । समग्रमा यस कृतिलाई राष्ट्रप्रेम/राष्ट्रिय, सामाजिक-सांस्कृतिक र जातीय जागरण, नीतिवादी औपदेशिक तथा धार्मिक विषयक गीत/गजल सङ्ग्रहका रूपमा लिन सकिन्छ ।

यो पुस्तक सन् १९३२, १९३३, १९३५, १९३६ र १९३८ सालमा गरी पाँच संस्करण छापिएको थियो । वि.सं. २०५० सालमा बहादुरसिंहका सुपुत्र खड्गजीत बरालको प्रकाशकत्वमा बरालको आँसुको नवीन संस्करण भनी पुन: प्रकाशित भयो ।

अन्तिम संस्करण डा. खगेन्द्रप्रसाद लुईंटेल (हाल त्रिभुवन विश्वविद्यालयको नेपाल केन्द्रीय विभागको विभागीय प्रमुख) बाट सम्पादित भई वि.सं. २०६९ सालमा प्रकाशित भयो । 

वि.सं. २०८१ साल बैशाख १५ गते भारतको दारीको भाग्सुस्थित गोरखनाथ मन्दिरको परिसरमा बहादुरसिंह बरालको अर्द्धकदको शालिक अनावरण भयो । सो मन्दिर उनले सन् १९५५ अप्रिलमा स्थापना गरेका थिए । अनावरण कार्यक्रममा ‘गेस्ट अफ अनर’ डा. खगेन्द्रप्रसाद लुईंटेल र प्रमुख अतिथि पूर्वसांसद दिलकुमारी राई भण्डारी थिए । कार्यक्रमको विशेष अतिथि बिक्रमपाण्डे काजी (नेपाल सरकारबाट नियुक्त लुम्बिनीका गुडविल अम्बेसेडर) थिए ।

 

Books by Captain Bahadursingh Baral