विष्णु भण्डारी चालिसको दशकदेखि लेखनकार्यमा जुटेका व्यक्ति हुन् । तीन दशक कविता विधामा कलम चलाएका उनले सत्तरीको दशकदेखि आख्यान र गैरआख्यानमा काम गर्दै आएका छन् । अहिलेसम्म उनका आठ काव्यकृति, दुई उपन्यास र एक गैरआख्यान प्रकाशित छन् ।
कविता मात्र हैन आख्यान र गैरआख्यान पनि काव्यिक बनाउन सक्नुपर्छ भन्ने भण्डारी कवितालाई जीवनसँग जोड्नुपर्नेमा जोड दिन्छन् । सामाजिक जीवनमा मात्र हैन लेखनमा पनि सामुहिक प्रयत्नको आवश्यकताबोध गर्छन् । यही प्रयोजनका लागि कहिले ‘साहित्य यात्रा’ कहिले ‘सिर्जना अभियान’ त कहिले ‘काव्यशिविर’ बनाउँछन् । निरङ्कुशताविरोधी सङ्घर्षमा आन्दोकारीसँगै सडकमा भेटिने कवि भण्डारी शान्तिकालमा भने शब्दको हतियार बोकेर ‘अलगधार अभियान’मा सक्रिय रहन्छन् । सानैदेखि प्रगतिवादी साहित्यिक आन्दोलनमा सक्रिय उनी अहिले ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’मा आबद्ध छन् ।
लेखन जस्तो समाजसँग प्रत्यक्ष जोडिएको विधालाई हल्का रूपमा लिनुहुन्न भन्छन् उनी । लेखकले शब्द र कर्मका बिचमा तादाम्यता राख्नुपर्छ भन्नेमा अडिग छन् । सामाजिक विकृति र विसङ्गतिको आलोचना त उनको लेखनमा हुन्छ नै त्यो सँगै समकालीन राजनीतिमा मौलाउँदै गएको भ्रष्टचार, नातावाद, कृपावाद र सत्ताका लागि अप्राकृत गठजोडका कट्टर आलोचक हुन् । लेखक सधैँ स्थायी प्रतिपक्षीका रूपमा रहन सक्नुपर्छ भन्ने भण्डारी कला–साहित्यमा ‘अलगधार’को बहस–पैरवी गर्छन् ।