१. मेरो निबन्धको शीर्षक सुन्दै तपाईं एकबार मुस्काउनुहुनेछ, या हाँस्नुहुनेछ । लक्ष्मीप्रसाद देवकोटाको स्त्रीमा परिणति ? असम्भवमा ठाडो ! अनौठामा विचित्र !
‘कति आत्मविरोधी कल्पना !’ कसैले मन–मन सोच्नुहुनेछ ।
कोही मेरो पुरुषको परुषामूर्ति देखेर भन्नुहुनेछ, ‘बाजे ! तपाईं ४६ वर्षको उमेरमा पोथी हुनुभए पनि, नवयुगको कुन नायकको प्रेमपात्र हुनुहोला त, खै ?’
म स्वीकार गर्दछु कि यति बूढी हुनुमा केही मजा जरूर छैन । तर यौनपरिणति लिन सक्ने मैले आफ्नो वर्तमान उमेरबाट २१/२२ वर्ष पनि त घटाउन सक्तछु । यसमा म आशा गर्छु, तपाईं विश्वास गर्नुहोला । ऊ ! तपाईंलाई अलिकति चाख बढेर आयो । तर अझै तपाईं मुन्टो हल्लाउँदै हुनुहुन्छ । तपाईं भनिरहनुभएको होला, ‘त्यही घ्वाँके नाक र त्यही गाला हो भने त, त्यही कस्सेँदो मैनको रोगन ।’