म अक्सर अँध्यारोमा
तारा हेरेर टोलाउँथेँ
र सोध्थेँ आकाशसँग अनेक प्रश्नहरू
अनुत्तरित हुन्थेँ र खेल्थेँ
आफ्नै मनसँग एउटा जिज्ञासु खेल
जून हेरेर टोलाउँथेँ
र सोच्थेँ,-
कहाँबाट टिपेर ल्यायो होला आकाशले
त्यो सेतो चम्किलो फूल
भावुक हुँदै हेरिरहन्थेँ नदी
प्रवाह हुन्थ्यो हृदयभरि संवेदनाको तरङ्ग
निर्माण गर्थेँ मस्तिष्कभरि
बगर र किनाराको
फगत वियोगान्त कथाको पाण्डुलिपि
निकैबेर सोचमग्न हुन्थेँ
आकाशबाट पानी वर्षिनुको विस्मयतामा
बिस्तारै म एकाकार भएँ
समयको अविरलतासँगै
पौडिन थालेँ ज्ञानका छालहरूमा
हराउन थालेँ मस्तिष्क मन्थनमा
बिस्तारै आश्चर्यचकित हुन छोडेँ
हावाका वेगहरूमा
मौसमका बदलावहरूमा
दिन र रातका गोलचक्करहरूमा
समयकाे अन्वेषणले
हरेक आश्चर्यबोधलाई मबाट टाढा धकेल्यो