तिमी आइमाई मान्छे !
इन्टरनेटका पर्दाहरूमा काँचुली फेरिरहेकी
विज्ञापनमा बैँस पस्केर उदास मुस्काइरहेकी
सीताकी तिमी छोरी
यशोधराकी बहिनी
भृकुटी, तारा र पासाङ ल्हामुकी आत्मजा, आफन्त...
तिमी स्वास्नी मान्छे !
तिमी आइमाई मान्छे !
तिमी आइमाई मान्छे !
ब्वाँसाहरूको मनोरञ्जनमा सशरीर ब्यस्त
पोथी हुनुको नियतिसँग लडिरहेकी निरन्तर
आफ्नो श्री र सौन्दर्य दाउमा लगाइरहन अभिशप्त सधैँ
बजारकी तिमी श्रृङ्गार हौ
सन्तानकी तिमी सर्वश्व
तिमी आइमाई मान्छे !