फूल र पातलाई सुस्त-सुस्त हल्लाएर जाने
बतास जसरी बाँचेको भए पनि हुने !
नीलो आकाशमा बिस्तारै सरक-सरक सरिरहने
बादलका झुप्पा जसरी बाँचेको भए पनि हुने !
मनमा कुरा खेलाउँदै हजुरआमाले
नातिनीको उध्रिएको ट्राउजरमा
सियो धागो चलाइरहे जसरी
हजुरआमा छेवैमा नातिनी हिउँदे घाम ताप्दै
ऐनामा बैँस राखेर मुस्कुराइरहे जसरी
सुस्तरी-सुस्तरी, आराम गर्दैगर्दै
उध्रिएका सम्बन्ध सिलाउँदै-सिलाउँदै
कुनै हतारविना बाँचेको भए के जान्थ्यो र !