सिमयोन सुकिता राईको 'सिमयोन सिम्फोनी' कवितासंग्रह विमोचन

किताब यात्राद्वारा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो ।

कवितासंग्रहलाई कवि राईसँगै कवि विप्लभ प्रतीक, पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् । कवितासंग्रहलाई कथालय इन्कको  विभाग वी रिडले प्रकाशन गरेको हो ।

नयाँ पुस्ताले साहित्य र सिर्जना नबिर्सिउन् भन्ने उद्देश्यले सुरु गरेको पोएट आइडलबाट सिमयोन जस्ता नयाँ पुस्ता आउँदा निकै राम्रो भएको भन्दै निर्देशक अधिकारीले खुसी व्यक्त गरे ।
संग्रहमाथि निर्देशक अधिकारीले कवि राई र कवि प्रतीक छोटो विमर्श गरे । विमर्शमा सबैले पोएट आइडलको यात्रा र अनुभवहरुलाई समेत स्मरण गरे ।

पोएट आइडल जस्ता मञ्चबाट नाम र पहिचान पाएको सुनाउँदै कवि राईले अधिकारीप्रति आभार व्यक्त गरे । ‘पोएट आइडलबाट मैले नाम र परिचय पाएको छु’, उनले भने, ‘यसभन्दा अघि आफ्नो मर्जीमा कविता लेखेको थिए’ । कविता भयो या भएन, त्यो पनि हामीलाई थाहा थिएन । पोएट आइडलमा एउटा विषयमा कविता लेख्न
च्यालेन्ज थियो । त्यसमा हामीले सिक्न पायौं ।’

कविता लेख्ने मात्र होइन, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे पनि थोरै समयमा सिक्न अवसर पाएको राईले सुनाए । नौ वटा भागहरूमा विभाजित रहेको संग्रहमा जीवनका भोगाइहरू, सिक्किमको संस्कृति, रहनसहन, परिवेशलाई समेटिएको कवि राईले सुनाए ।

लेखनमा हरेक लेखकको अनुभव, आञ्चलिकता भएपनि सिर्जनामा लेखकहरु संवेनशील हुनुपर्ने बताउँदै प्रतीकले त्यसमा सिकाई र सोचाई दुवै हुनुपर्ने कवि प्रतीकले बताए ।

कवि प्रतीकले सिर्जनामा सीमितता नहुने सुनाउँदै यो विश्वव्यापी रुपमा जानुपर्ने धारणा राखे ।