शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष प्रश्न’ अब नेपालीमा

बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशन भएको छ । संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको ‘शेष प्रश्न’लाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो ।

किशोरावस्थामै पढेको ‘शेष प्रश्न’को सुखद प्रभाव आफूबाट कहिल्यै नहटेपछि नारायण वाग्लेको अनुरोधमा अनुवाद गर्न तम्सिएको आभासले बताए । कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अनुवादक आभासले भने, ‘मन परेको उपन्यास कुन हो भनेर कुराकानी हुँदै गर्दा मलाई सबैभन्दा पहिला ‘शेष प्रश्न’कै सम्झना भयो । धेरै पछि फेरि यही किताब पढ्दा झनै मन पर्यो ।’
आभासले आफ्नो यो अनुवाद कर्मलाई कुनै गीति सृजनामा आफ्नै पाराले धुन भरेको रुपमा व्याख्या गरे ।

लोकार्पित पुस्तक ‘शेष प्रश्न’बारे ‘कुमारी प्रश्नहरू’ कथा संग्रहकी लेखक दुर्गा कार्कीले भनिन्, ‘उपन्यास छापिएको झन्नै सय वर्ष पछि पनि मूल पात्र कलम सपना जस्तै लाग्छिन् । उनको पात्रले बोकेको बहुआयामिकता, जटिलता, सूक्ष्मता र क्रान्तिचेत प्रगतिशील साहित्यमा विरलै भेटिने कुरा हो । पुरुषद्वारा रचिएका आख्यानमा त झनै कम । दुःखको कुरो प्रेम, नैतिकता, विवाहलगायत लैंगिक सामाजिक मूल्य-मान्यतामा 'शेष प्रश्न'मार्फत गरेको परिकल्पनादेखि हामी अझै पनि धेरै पर छौँ । यसको चरित्र चित्रण, संवादात्मक आख्यानशैली र प्रगतिशीलता सुन्दर छ ।’ मुख्य नारी पात्र कमल आफूलाई प्रेरणादायी लागेको उनले बताइन् ।

कार्यक्रममा अनुवादक आभासले आफू बंगाली साहित्य र संगीतबाट प्रभावित रहेको बताए । आफू बंगालमा लामो समय बसेको अनुभव सुनाउँदै रवीन्द्र गान सुनाएर आफ्नो मन्तव्य आरम्भ गरे । अन्त्यमा उनले उत्तर बंग विश्वविद्यालयमा प्राध्यापनरत सञ्जय बान्तवाले लेखेको नयाँ गीत ‘नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा’ आफ्नै धूनमा सुनाए ।

शरत्चन्द्र चट्टोपाध्याय संसारभरि धेरै पढिने लेखक मध्ये पर्छन् । उनका उपन्यास, कथा, नाटक, निबन्ध आदि कृति सयभन्दा बढी प्रकाशित छन् । शरत्चन्द्रका कृति भारतका विभिन्न भाषा तथा थुप्रै अन्तर्राष्ट्रिय भाषामा अनूदित छन् । उनको कृति ‘देवदास’मा आधारित भएर दर्जनौं सिनेमा तथा शृङ्खला बनेका छन् ।

पब्लिकेसन नेपालयले सन् २०२५ मा अनुवादका चार पुस्तक प्रकाशन गरेको जनाएको छ ।

लोकार्पण कार्यक्रममा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक ‘सात सालको कथा’, नोबेल पुरस्कार विजेता लेखक मो यानका छानिएका कथा र उपन्यासिकाको अनुवादको पुस्तक, नारायण वाग्लेको ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद र अहिले शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास ‘शेष प्रश्न’ प्रकाशन गरेका छौँ ।’

दुई दशकदेखि मासिक सांगीतिक शृंखला ‘पलेँटी’ संयोजन गर्दै आएका अनुवादक आभास संगीतज्ञ तथा कवि हुन् । उनको ‘भूगोलमाथि उभिएको जैतून’ कविता संग्रह प्रकाशित छ । साथै उनले थुप्रै बालसाहित्य र बालसंगीत पनि सृजना गरेका छन् ।
नेपालीमा अनूदित ‘शेष प्रश्न’ देशका प्रमुख पुस्तक पसलहरुका साथै www.thuprai.com (थुप्रैडटकम) वा अमेजनमार्फत पनि किन्न सकिनेछ ।