रमेश सायनकाे 'छुटेका अनुहार'लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल-हरिकला लामिछाने समाज कल्याण परिषद २०७५ सालको 'पद्मश्री साहित्य पुरस्कार' निबन्धकार तथा कवि रमेश सायनको 'छुटेका अनुहार' लाई प्रदान गर्ने निर्णय गरिएको छ । यसको जानकारी खेमलाल-हरिकला लामिछाने समाज कल्याण परिषदका अध्यक्ष जीवा लामिछानेले टुइटर मार्फत दिएका हुन् । 
त्यसैगरी यस वर्षको 'पद्मश्री साधना सम्मान' इतिहासकार महेशराज पन्तलाई प्रदान गरिएको सोमबार प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पुरस्कारको राशी २ लाख रुपैयाँको रहेको छ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिनेछ। प्रतिष्ठानले २०६७ सालदेखि पद्मश्री साधना सम्मान र २०६२ सालदेखि पद्मश्री साहित्य पुरस्कार दिंदै आएको छ ।  

 

प्रेस विज्ञप्तिमा भनिएको छ:

"खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
रत्ननगर-१, चितवन

मितिः २०७६/०५/१०

प्रेस विज्ञप्ति

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वर्ष २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण 'छुटेका अनुहारलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
छुटेका अनुहारमा लेखक रमेश सायनले आफैले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेका छन् ।
त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. दुई लाख रुपैंया रहेको छ ।
वि.स. २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पदमश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ ।

जीवा लामिछाने 
अध्यक्ष, 
खेमलाल हरिकला लामिछाने प्रतिष्ठान 
रत्ननगर, चितवन"

 

Image Source: Jiba Lamichhane, Twitter