प्रधानमन्त्री केपी ओलीबाट प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संगर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।

प्राध्यापक खम्बू झापाको बामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील बामपन्थी व्यक्तित्व हुन् । उनी झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरूसँग निकट रहेर काम गरेका राजनैतिक कर्मी पनि हुन् । पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् ।

'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । यस पुस्तकले एउटा राजनैतिक आन्दोलनको कथा समेटेको छ ।‘ प्रधानमन्त्रीले आफ्नो लामो मन्तव्यको क्रममा भने- ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ । यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ; किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ ।‘ नेत्र-ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओली भन्दै थिए- ‘तर खम्बूजीले देख्न छोड्नु भएको छैन । उहाँको अन्तरदृष्टि खुलस्त छ ।‘ प्रधानमन्त्रीको प्रतिक्रिया सुनिरहेका लेखक केआर खम्बू शीर हल्लाउँदै सहमती दर्शाइरहेका देखिन्थे ।

मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराएनन् उनले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको सम्झना गरे । उनका रोचक प्रसंगले सभा हलमा हाँसोको लहर फैलेको थियो ।

‘यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ । झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदा ताकादेखि खम्बूजीसँग मेरो संगत हो । तर यो पुस्तकमा मेरो मात्र होइन धेरैको कथा समेटिएको छ ।'

कार्यक्रमा पुस्तक 'छायाँको लस्कर' र लेखकका बारेमा प्राध्यापक जङ्गब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए । केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको जानकारी गराउँदै प्राध्यापक जङ्गबले पनि विगतका दिनहरूको सम्झना गरे । उनले विराटनगरमा क्याम्पस पढ्दाका दिनहरू सम्झँदै लेखक खम्बू बारे आफ्नो धारणा राखे ।

'छायाँको लस्कर' मा लेखकले उनले भोगेको समय र राजनैतिक परिघटनालाई समेटेका छन् । त्यसैले यो एउटा राजनैतिक दस्तावेज त हो नै । तर यो एउटा उत्कृष्ट साहित्यिक कृति पनि हो' प्राध्यापक जङ्गब पुस्तक बारे आफ्नो धारणा राख्दै थिए- 'पुस्तक लेखकको जीवनका भोगाइको वरपर घुमेको र यसका मूल पात्रहरू त्यसबेलाका माले, एमालेका नेताहरू छन् । तर पनि खम्बूको सरल अनि रसिलो भाषाले पुस्तक पढ्दा साहित्यिक कृतिको आनन्द आउछ ।' पुस्तकका बारेमा प्राध्यापक जङ्गबको थप टिप्पणी थियो । जङ्गबले आफ्नो मन्तव्यको अन्तमा रुसी कवि पुस्किनको छोटो कविता लेखक खम्बूलाई समर्पण गर्दै सुनाएका थिए ।

प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको जानकारी गराउँदै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रष्ट्याएका थिए ।

विमोचन कार्यक्रमलाई प्रकाशन संस्था नेपालयकातर्फबाट युवा साहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिन् । कार्यक्रम संचालनकै क्रममा भूषिताले किताबमा रहेका रोचक उद्दरणहरू वाचन पनि गरेकी थिइन् । उनले पुस्तकका लेखकको संगतका बेला कालीचरणका नाममा प्रधानमन्त्री ओलीले लेखेको कविता पनि वाचन गरेकी थिइन् । सो कविता विमोचित पुस्तक ‘छायाँको लस्कर’मा संकलित रहेको छ ।

नेपालय पब्लीकेसन्सले प्रकाशन गरेको 'छायाँको लस्कर' ३७० पृष्ठमा समेटिएको छ । पुस्तकको मूल्य ५४५ रुपैँया रहेको छ ।

नेपाली चाड दशैँको छेक पारेर पब्लिकेसन्सले थप तीनवटा पुस्तक सार्वजनिक गर्ने भएको छ । कवि तथा गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठका पुस्तहरू यही शुक्रबार, शनिबार र आइतबार आयोजना हुने सांगीतिक कार्यक्रम पलेँटीमा सार्वजनिक गरिने भएको जानकारी नेपालयले गराएको छ ।