मुना-मदन मार्फत् पलेँटीमा दार्जिलिङ, सिक्किम र मनिपुरको संगम

यस महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत हुने भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् । संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो । गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए । गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गर्‍यो । उनले काठमाण्डौको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला शुरु गरिन् । त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना-मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएकाछन् ।

संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन् । त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाण्डौमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरीरहेकी छन् ।

नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना-मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ । त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ । यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन् । त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन् ।

मुना-मदनको यो प्रस्तुतिमा अर्को आकर्षण पनि रहेको छ । दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपालीको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन् । त्यसैले यो पलेँटी मार्फत् काठमाण्डौले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ । मुना-मदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने छ ।

‘मैले उहिल्यै धुन भरेको मुना-मदन झण्डै झण्डै भूली सकेकी थिएँ, पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु । यसको रङ्ग भने लोकले गाउँदै आएको मुना-मदनकै मौलिक धुनमा आधारित छ ।‘ आफूले धुन भरेको कृतिका बारे संगीतकार ठटालले जानकारी गराइन् । ‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुन थाल्दा यसको प्रस्तुति भएको थियो; एउटा रमाइलो जानकारी गराउँछु- त्यतिबेला मुना-मदन गीतिनाटकको निर्देशक पनि मै पो थिएँ त !’ उन्मुक्त हाँसोकासाथ ठटाल भन्दै थिइन्- ‘यसपाली भने गीति नाटकको रुपमा होइन कथा गायनको रूपमा प्रस्तुत हुनेछ ।‘

‘संगीतमा निरन्तर क्रियाशील शान्ति दिदीका झण्डै बिर्सिसकेका मुना-मदनका धुनलाई पलेँटीको अभिलेखालयमा संकलन गर्न पाउनु सानो उपलब्धि होइन; देवकोटाको यसै कृतिमा अग्रज संगीतकार अम्बर गुरुङले भर्नु भएका धुन हामीले सुन्न पाएनौं । त्यसलाई बेलैमा व्यवस्थित ढंगले अभिलेखायलमा राख्न पाएको भए नेपाली संगीत र साहित्यको ढुकुटी थप भरिलो हुने थियो ।‘ पलेँटी संयोजक आभास भन्दै थिए- ‘शान्ति दिदीले हामीलाई यसको अभिलेख राख्ने मौका दिनुभएको छ, यसले हाम्रो संगीत र साहित्यको ढुकुटीमा अनमोल रत्न थपिएको छ ।‘

नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन् ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको जानकारी प्राप्त भएको छ । त्यसकानिम्ति  thuprai साथै paleti@nepalaya.com.np र ९८०३९१९२६६ मा सम्पर्क गर्न सकिने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ । 

यही जुन महिनाको, २८, २९ ३० तारिख (असार १३, १४ र १५) मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।