महाकवि देवकोटाको 'मुनामदन' नेवारी गीतिकाव्य ‘जि वया ला लछि मदुनी’ बाट प्रभावित

यसबारे प्रा. नर्मदेश्वर प्रधान, डा. दयाराम श्रेष्ठ, माइकल हट , गणेशबहादुर प्रसाई आदिले विस्तारमा स्रोत खुलाएरै लेखेकाले काठमाडौंमै जन्मे हुर्केका लक्ष्मी प्रसाद  देवकोटामा नेवार साहित्य र लोक संस्कृतिको प्रभाव पर्नु स्वभाविक मान्न सकिन्छ। देवकोटाका मुख्य पात्र मदन क्षत्री भए पनि ल्हासा पुग्नु नेवार समाजको ऐतिहासिक व्यापारिक परम्पराको पृष्ठभूमिसँग जोडिएको कुरा स्पष्टै छ।

प्राध्यापक नर्मदेश्वर प्रधान लिखित 'मुनामदन र जि वया लाछि मदुनि गीतिकथा' अनुसार उक्त गीतिकाव्य नेवारी लोकलय सिनाज्या ‘रोपाइँ गीत’ मा आधारित छ।  उक्त पुस्तकमा लेखक प्रधानले लेखेका छन्, ‘ल्हासा व्यापार गर्न जाँदा श्रीमान/श्रीमतीभित्र हुने विरह, विरक्ति विषयमा केन्द्रित पुराना गीतिकथाहरू नेपालभाषामा थुप्रै छन्।’

उनले मुनामदन र ‘जि वया ला लछि मदुनी’ दुवैमा मूल पात्र आमा, छोरा र बुहारी हुनु, छोराहरू व्यापारका लागि ल्हासा जानु, पत्नीहरूले ल्हासा नजान अनुरोध गर्दागर्दै पनि जानु, नायिकाहरूलाई दुःस्वप्न आउनु, नायकको मृत्युबारे नायिकाहरूलाई पतिका साथीहरूबाट सूचना मिल्नु, नायिकाहरूको मृत्यु हुनु, वियोगान्तजस्ता आधारभूत कुरामा समानता भएको उल्लेख गरेका छन्।

यति धेरै समानताका हुँदाहुँदै मुनामदनमा देवकोटाको लेखकीय चमत्कार र मौलिकताबारे प्रशंसा गर्दै प्रधान निष्कर्ष निकाल्छन्, ‘आधार कथावस्तुबाट प्रभावित भएरै पनि महाकविले मुनामदन खण्डकाव्यलाई ‘जि वया ला लछि मदुनी’ गीतिकथाभन्दा कता हो कता भिन्न, मौलिक, सिर्जनात्मकताले सम्पन्न गरी मुनामदनको कथावस्तुलाई अत्यन्त मार्मिक लयबद्ध संगीतात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ।’