खिमा रिजालद्वारा लिखित 'अन्तर्मनका रङ्गहरू' कृति बजारमा

मानसिक स्वास्थ्य र मनोपरामर्शको बारेमा लेखिएको अन्तर्मनका रङ्गहरू मनोविज्ञान, मानसिक स्वास्थ्य र मनोपरामर्शको क्षेत्रमा एउटा नयाँ र रोचक कृतिको रूपमा भित्रिएको छ ।

खिमा रिजालद्वारा लिखित यस कृतिले मानसिक स्वास्थ्य अन्तर्मनका रङ्गहरू र मनोपरामर्शको बारेमा जानकारीमूलक सूचना रोचक ढङ्गले प्रस्तुत गरेको छ । यो कृति आफ्नो पेसागत अनुभव, वर्तमान समयमा समाजमा देखिएको सामान्य र जटिल मानसिक स्वास्थ्य समस्याका साथै समाधान समेत समेटेर लेखिएको हो । केही न केही नगरी नबस्ने लेखक खिमा रिजालले धेरैजसो नारी सेवाग्राहीका कथा र मनोपरामर्शको पाटोलाई यस पुस्तकमा संवेदनशील रूपमा समेट्ने कोसिस गरेकी छिन् ।

मानसिक स्वास्थ्य र मनोपरामर्श सम्बन्धी नेपालीमा लेखिएका पुस्तक बिरलै पाइन्छन्। अझै मनोपरामर्शका पुस्तक त निकै कम पाइन्छन् । विश्वमा नै मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गैरहेको वर्तमान परिवेशमा यो पुस्तक विश्वविद्यालयका विद्यार्थी र सर्वसाधारणको निम्ति पनि महत्वपूर्ण रहेको छ । यस पुस्तकले पाठक आफूलाई भएको स्वास्थ्य अवस्थाको बारेमा सचेत गराउनुका साथै मनोपरामर्श र मनोचिकित्सककोमा जान प्रेरित गर्दछ । सेवाग्राहीको समस्या र मनोपरामर्शको बारेमा यस पुस्तकले पाठकहरूलाई रोचक शैलीमा जानकारी दिन्छ ।

अक्षर क्रियसन्सद्वारा प्रकाशित यस कृतिको मूल्य रु. ५५० रहेको छ । अक्षर क्रियसन्स महिलाकेन्द्री बहस र प्रकाशनमा केन्द्रित संस्था हो ।