घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ सार्वजनिक

साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ सार्वजनिक गरिएको छ । घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौँमा लोकार्पण कार्य सम्पन्न गरिएको छ। गीत लेखनबाट कविता हुँदै गजल लेखनमा निकै रमाएका घिमिरेका चारवटा गजलसंग्रह (एउटा छन्द/बहरबद्धसहित), एकएकवटा कविता र गीतसंग्रह प्रकाशित छन्। प्रस्तुत कथासंग्रह ‘अन्तिम प्रश्न’ १६ वटा कथाहरूको संग्रह हो । प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती; समालोचकद्वय उपप्राध्यापक डा. विन्दु शर्मा; उपप्राध्यापक महेश पौड्याल; पूर्वमुख्यसचिव, कवि तथा गीतकार डा. विमल कोइराला; युवासमीक्षक घनेन्द्र ओझाका  साथ घिमिरेले  कथासंग्रह ‘अन्तिम प्रश्न’ लोकार्पण कार्य सम्पन्न गरे। 


कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेको जागिरे जीवन, घिमिरेले भोगेको परिवेश र अनुभूत गरेका परिस्थितिनै घिमिरेका कथामा आएको उल्लेख गरे । उपप्राध्यापक महेश पौड्यालले घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रुपमा आएका उल्लेख गरे भने, युवासमीक्षक घनेन्द्र ओझाले कवि, गीतकार, गजलकार हुँदै आख्यान लेखनमा प्रवेश गरेका घिमिरेका कथामा खास नेपाली माटोको, नेपाली संस्कृति र सभ्यताको अनि नेपाली भाषा र पनको स्वाद पाइने बताए। त्यस्तै पूर्वमुख्यसचिव कवि तथा गीतकार डा. विमल कोइरालाले सिर्जना कर्म अत्यन्त गाह्रो काम हुने धारणा राखे । जीवनको उत्तराद्र्धमा आएर विधाभञ्जन गर्नु चानचुने कुरा नभएको कोइरालाको भनाइ थियो । घिमिरेको पछिल्लो समयमा देखिएको लेखनप्रतिको ऊर्जा देख्दा आफूलाई खुसी र अचम्म दुवै लागेको कोइरालाले बताए । कथाको बारेमा बोल्दै प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेलले घिमिरेका कथामा रहेको नेपालीपन, आमनेपालीका विषय र आमनेपालीका दुःखको अभिव्यक्तिले पाठकको मन र मस्तिष्कमा गहिरो छाप पार्नसक्ने बताए ।

कार्यक्रमको अन्त्यमा कथाकार घिमिरेले आफू लामो समयसम्म सेतो घोडाको नियति बाँचेको र कार्यव्यसनमा आफैँ पनि फसेको बताउँदै धेरैजसो कथा आफ्नै देखाइ, भोगाइ र अनुभूति भएको उल्लेख गरे । अब उपन्यास लेखनमा रुचि बढेको घिमिरेको भनाइ थियो । यसरी एक कर्यक्रमको योजना गरी आफ्नो कथासंग्रह ‘अन्तिम प्रश्न’ को लोकार्पण कार्य सम्पन्न गरे।