बीपी विचार राष्ट्रीय समाजले ४४ औं मेलमिलाप दिवस मनायो

४४ औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आज एक समारोहका बीच बीपी विचार राष्ट्रीय समाजले प्रकाशित गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका बीर योद्धाहरू’ ग्रन्थको विमोचन गर्नु भयो ।

डा. यादवले विमोचन समारोहमा प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै वीपी कोइरालासंगको आफ्ना स्मरण गर्दै ०३३ साल पौष १६ गते बीपी कोइरालाले देश बचाउनका लागि जोखिम मोलेर राष्ट्रीय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्कनु भएको विषय ऐतिहासिक घटना हो भन्नु भयो ।

डा. यादवले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको वर्तमान भूमिकाबाट निरास हुँदै वर्तमान अवस्थामा देशको राजनीति ढंगसंग चल्न नसकेको तर्फ आँफ्नो भनाई राख्नु भयो ।
कार्यक्रममा आफ्ना विचार राख्नुहुँदै नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले बीपी विचार चिन्तनलाई छोडेर अगाडी बढेकै कारण काँग्रेस आज दु:खद अवस्थामा आइपुगेको प्रसंग उल्लेख गर्नु भयो ।

पूर्व मन्त्री एवम् पहिलो संविधान सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरेले काँग्रेसको वर्तमान नेतृत्वको निकम्मापन माथि तिखो प्रहार गर्दै आज काँग्रेस पार्टीमा काँग्रेस खोज्नु पर्ने अवस्था छ भन्नु हुँदै हिमालमा बस्ने यति गोकर्ण रिसोर्ट, नारायणहिटी, ताहाचल हुँदै लुम्बिनीसम्म पुगेको छ भनेर व्यंग गर्दै प्रम ओलीको भ्रस्टाचारमा लिप्त भएको प्रवृत्ति माथि तिखो प्रहार गर्नु भयो ।

पूर्व राज्यमन्त्री भुसालले विमोचन समारोहमा वोल्नु हुँदैन बीपीको मेलमिलाप नीतिको मर्मलाई काँग्रेसले बुझ्न छोडेको कुरा वताउनु भयो ।

त्यसै गरी संघीय संसदका साँसद रामबहादुर बिष्टले बीपीको विचार अनुसार काँग्रेस सच्चिनुको विकल्प नरहेको कुरा बचाउनु भयो ।

काँग्रेस नेता लोकेश ढकालले बीपीको निधनको लगतै देखि काँग्रेसले क्रमश: बीपी कोइरालाको विचार छोड्दै गएको प्रसंग उल्लेख गर्दै १२ बुँदे समझदारी, वृहत शान्ति सम्झौता, दुईवटा संविधानसभा निर्वाचन हुँदै संविधान जारी गर्दासम्म काँग्रेसले बीपीको विचारलाई छोडिसकेको कारणले आज कांग्रेस कमजोर भएको कुरा वताउनु भयो ।

बीपी विचार राष्ट्रीय समाजका सभापति कुलबहादुर गुरूंगको सभापतित्वमा सम्पन्न कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव केदारनाथ शर्मा, शहीद परिवारको सदस्यका तर्फबाट दिवानसिंह राई राईकी सुपुत्री काँग्रेस नेतृ लक्ष्मी राई, पुस्तकका सम्पादक डा वासुदेव खनालले प्रकाशित पुस्तक, मेलमिलाप नीतिको महत्व, बीपीको बहुआयामिक व्यक्तित्व र वीर योद्धाहरूको वारेमा प्रकाश पार्नु भएको थियो । समाजका महासचिव विनयध्वज चन्दले धन्यवाद् मन्तव्य प्रकट गर्नु भएको थियो । कार्यक्रमको संचालन समाजका उपमहासचिव रामबहादुर गुरुंगले गर्नु भएको थियो ।

प्रकाशित पुस्तकमा ९ जना शहीद बीर योद्धाहरू रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइराला, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरूंग, बुद्धसिंह राना, दुर्गानन्द झा र जीवित योद्धा कुलबहादुर गुरूंग समेत गरी १० जनै व्यक्तित्वले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका र व्यक्तित्व माथि अनुसन्धनातमक लेख समावेस गरिएको छ । लेख १० जना विद्वान प्राध्यापक एवम् पत्रकारले तयार गर्नु भएको छ ।

बीपी विचार राष्ट्रीय समाजले प्रकाशित गरेको कृति ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू’ ग्रन्थ ५४४ पृष्ठको छ । कृतिको मूल्य रू. १०००।- रहेको छ ।

Picture: Lokesh Dhakal, Facebook