यही जेठ २ गते जनकपुर साहित्य महोत्सवको सातौँ संस्करणमा 'हामीलाई के कुराले मान्छे बनाउँछ' शीर्षकको पुस्तक जनकपुर स्तिथ विज्डम ट्री स्कूलका कक्षा ६ मा अध्ययनरत छात्रा याशिका टिव्रेवाल तथा छात्र आकाश यादवले विशेष कार्यक्रमको अवसरमा मञ्चमा स-स्वर वाचन गरी विमोचन भएको छ ।

यस पुस्तकका लेखक भिटर डी. ओ. सान्तोस, चित्रकार अना फोरलाती अनुवादक जय प्रसाद लम्साल तथा भाषा सम्पादन भिकटर प्रधान तथा विप्लोप प्रतिकले गरेका हुन् ।
.jpg)
विगत १८ वर्षदेखि बालसाहित्य प्रकाशनका साथै पठन संस्कृतिको विकासमा क्रियाशील कथालय इन्कले यस विशेष थिममा आधारित भएको यो पुस्तक प्रकाशन गरेको हो । बालबालिकालाई भाषा र संस्कृतिको महत्त्व बुझाउने उद्देश्य राखिएको यो पुस्तकले नेपाल जस्तो बहुभाषिक देशमा आदिवासी र स्थानीय भाषाको महत्त्व तथा भूमिकालाई उजागर गर्दछ ।

हरेक बालबालिकालाई आफ्नो मातृभाषा बोल्न-पढ्न पाउनु भनेको आफ्नो साहित्य, कला र इतिहासको जगेर्ना गर्नुका साथै आफ्नो धरातलसँग जोड्न हो भन्ने धारणा कथालय इन्कका प्रमुख कार्यकारी अधिकृत सुनीति अमात्यले कार्यक्रमको अवसरमा व्यक्त गरे । चित्रको माध्यमबाट सरल रूपमा मातृभाषा र संस्कृतिको महत्त्व बुझाउने यस पुस्तकलाई कथालय इन्क र यूनेस्को (UNESCO) को सह-प्रकाशनमा प्रकाशित भएको हो ।