
हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यसपटक दार्जिलिङ्का प्रसिद्ध गायक तथा सङ्गीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

दुर्गा नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो। खासगरी- 'बोलाउँ भने तिमीलाई बात लाग्ने डर' दुर्गाको स्वरमा लोकप्रिय बनेको गीत हो। दाजु बद्री खरेल र दुर्गा खरेलको साङ्गीतिक जोडी बद्री-दुर्गाको नामले चिनिँदै आएको छ। यसपल्ट भने दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडी लिएर आएका छन्। कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जने छन्।
सङ्गीतकार गोपाल योञ्जनको सामिप्यमा हुर्किएका दुर्गाले सानोछँदा अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जन लगायतका अनेकौं स्वनामधन्य सर्जकका सृजनाको रसास्वादन गर्न पाए। गीतकार नरदेन रुम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जुर्यो। उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए। जसमा गीत सङ्गीतका सर्जकहरू अम्बर गुरुङ, गोपाल योञ्जन, बलु बराइली, एम.बी. सुन्दास, नरदेन रुम्बा, फटिकधर ब्राम्हण आदिका रचनाहरू समेटिएका छन्।

यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन्- 'स्वरांकित हुन नपाएका पुराना साङ्गीतिक रचनाहरूलाई सम्बर्धन गर्नु पनि पलेँटीको उद्देश्य हो । त्यही भएर यसपालीको पलेँटीमा दुर्गा खरेलको स्मृतिमार्फत् दार्जिलिङका पुराना सृजनालाई समेट्ने प्रयास गरेका छौँ।'
पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेको सम्झना गर्दै दुर्गा खरेल भन्छन्- 'यसभन्दा पहिले दुईचोटि हामी आफ्नो सङ्गीतमा विभिन्न गीतकारका गीतहरू लिएर उपस्थित भएका थियौँ । यसपल्ट भने मेरो वैयक्तिक सम्झनामा रहेका दार्जिलिंगे सङ्गीतकारका गीतहरु लिएर पलेँटीमा प्रस्तुत हुँदैछु । यो कार्यक्रम मेरो जीवनका अत्यन्तै महत्वपूर्ण कार्यभित्र पर्छन् । पहिले झैँ यसपल्ट पनि दर्शक, श्रोताको माया पाउनेमा पूर्ण विश्वास छ ।' मन्द मुस्कानमा देखिएका दुर्गाको दृष्टि हार्मोनियमका पर्दामाथि परिरहेको देखिन्छ।

पलेँटी कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार; २७ र २८ तारिख; शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ।
'आर'शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ।