Book launch- Phoolbari

Book launch- Phoolbari

Organized by पूर्वाञ्चल साहित्य प्रतिष्ठान

कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेलले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक प्राध्यापक भूषण ढुंगेलले विमोचित कवितासंग्रहभित्र प्रेम, विद्रोह, सामाजिक विकृति, विसंगतिलगायतका विषयलाई समेटिएको बताउनुभयो । उहाँले वृद्ध उमेरमा पनि कवि रिजालमा युवा चेत सशक्त रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको विमोचित कृतिमा ४९ वटा फुटकर कविता संग्रहित छन् । कवि भरत गुरागाईं ‘बर्बरिक’ र मीनकुमार नवोदितले विमोचित कृतिभित्रका कविता वाचन गर्नुभएको थियो ।

समारोहमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार दिङ्लाली कान्छो, समाजसेवी इन्दिरा रिजाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।