डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित ‘ग्रीष्मको नीलो बतास’ले यस वर्षको पवन आलोक नियात्रा पुरस्कार हात पारेको छ ।
पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालले संयुक्त रूपमा वितरण गर्ने पवन आलोक नियात्रा पुरस्कारका लागि यसअघि उत्कृष्ट पाँच कृति सार्वजनिक गरेको थियो ।
तीमध्ये ‘किशोर’को यस कृतिले नेपालका क्षेत्रगत विशिष्टता बोकेका विभिन्न पर्यटकीय गन्तव्यहरूप्रति दर्शाइएको उच्च सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धनमा पुर्याउन सक्ने योगदान, ती क्षेत्रहरूको शाब्दिक पथप्रदर्शन र भूगोल तथा विकास प्रक्रियाको सुन्दर बिम्बात्मक संयोजन बोकेकाले यो पुरस्कारको हकदार ठहर्याइएको छ ।
कोष-प्रतिनिधि पवन आलोक, नियात्राविद् श्रीओम श्रेष्ठ रोदन तथा पुरस्कारका संयोजक प्रतीक ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सोको जानकारी दिइएको हो ।
पुरस्कार आउँदो माघ १२ गते वसन्त पञ्चमीका दिन विशेष समारोह आयोजन गरी किशोर र उहाँको कृतिलाई सम्मान गरिने बताइएको छ ।