जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा

by Nawa Raj Subba
Please fill out the form below to request this book.
Publisher:
Hamro Idea
Genre:Art
Language: ne
Published:January 01, 2006
ISBN13:9789994636327
ISBN10:9994636324

About the Book

नेपाली भाषा र साहित्यको विकासमा वाणी प्रकाशन विगत दश वर्षदेखि सक्रिय र समर्पित हुँदै आएको छ । साहित्यलाई अनुत्पादक रूपमा हेरिने सङ्कीर्ण प्रवृत्ति र विद्युतीय माध्यमले साहित्यलाई प्रभाव पारेको छ, भन्ने सोच र दृष्टिकोणलाई हाँक दिँदै नेपाली साहित्यका स्रष्टाहरू निरन्तर सक्रिय भएर आफ्ना सङ्लो सोंच, शिल्पशैलीका माध्यमबाट सिर्जनालाई साहित्यको राजमार्गमा हिँडाइरहेका छन् । परम्परावादी साहित्यको गोरेटोबाट प्रारम्भ भएको नेपाली साहित्यको कवितायात्रा समयसँगै परिवर्तित र परिस्कृत हुँदै अहिले आधुनिक–उत्तरआधुनिकताको चुलीसम्म पुग्‍न सफल भएको छ । अनुज, अग्रज सबै स्रष्टाहरूको सिर्जनशीलता, लगनशीलता, अध्ययन, मेहनत र उनीहरूको साहित्यप्रतिको अनुराग नै यस सफलताको श्रेय हो । वाणी प्रकाशनले आफ्नो एक दशकको छोटो यात्रामा अग्रज स्रष्टाहरूको सम्मान, अनुज स्रष्टाहरूलाई प्रेरणा र सिर्जनाको वातावरण दिदै आएको छ । जसको प्रतिफल यस प्रकाशनले हालसम्म विविध विषयका एक सय पन्ध्रभन्दा बढी कृतिहरू प्रकाशित गरिसकेको छ भने दर्जनौं पुस्तक प्रकाशनको प्रक्रियामा छन् । स्पष्ट रूपमा भन्‍नुपर्दा वाणी प्रकाशन एउटा साझा चौतारी हो – स्रष्टाको । विषयवस्तुको विविधता नै साहित्यको रङ, स्वाद र सुवास हो । आफ्नो सिर्जनशील क्षमताअनुरुप नै स्रष्टाहरूले ती रङ, स्वाद र सुवासको सृष्टि गर्दछन् र पाठकहरू ती सृष्टिबाट आफू अनुकूलका रङ, स्वाद र सुवास ग्रहण गर्दछन् । अर्थात् मौरी हुन् स्रष्टा, मधुपारखी हुन् पाठक । स्रष्टाको कलाकौशल, सीप, उसको अध्ययन, मेहनत र चिन्तनमा निर्भर हुन्छ । हामी त मात्र एउटा उपवन हौं, उद्यान हौं र माली हौं सरक्षणको, सम्मानको । फूलको संरक्षण हाम्रो कर्तव्य । हामीबाट संरक्षित ती फूल अर्थात् साहित्यको सौन्दर्यले पाठकलाई के कति आकर्षण गर्छ, के कति प्रभावित पार्छ, रोज्‍ने स्वतन्त्रता र अधिकार पाठकको हो । पाठकीय मनभित्र आफ्नो अमिट स्थान बनाउनु वा पाठकको कोमल मनभित्र लेखकको मौलिकपन, शिल्प, शैली र विषयवस्तुको कुरा हो । जीवनको युद्ध जित्‍नु भनेको मन जित्‍नु हो, मनभन्दा ठूलो अरु जित्‍ने कुरा हुन्‍न । तसर्थ साँचो लेखक पाठकका मनभित्र जीवन्त रहेका हुन्छन् । वाणीको नवीन प्रकाशनको क्रममा यसपल्ट कवि नवराज सुब्बालाई पाठकीय इजलाससमक्ष उभ्याएका छौं । उहाँको कवितासङ्ग्रह ‘जीवन मेरो शब्दकोशमा’ यहाँहरूसमक्ष प्रस्तुत छ । जसभित्र कवि सुब्बाले आफ्नो दुई दशकभन्दा बढी समयभित्रका अनुभव र अनुभूतिलाई कविताको रूपमा अभिव्यक्त गर्नुभएको छ । समयका शीतल अनि बाफिला बतासले छोएका, स्पर्श गरेका विषयवस्तुलई उहाँले समेट्नु भएको छ । विषय साझा हो, प्रस्तुति कविको । जीवन एउटा अथाह समुन्द्र हो । यसभित्र पाइने वस्तुहरू पनि अथाह छन् । वास्तवमा कविता नै जीवनको प्रतिबिम्ब हो, र सार पनि । सम्भवतः त्यसैले कविले जीवनलाई कविताको विषय रोजेका छन् । उनका कवितामा उनी जन्मिएको भूगोलको प्रभाव छ । मानवीय जीवनको अपरिहार्य तत्व प्रेमका सङ्ला झरनाहरू छन् । आँखामा अजङ्गको सालिक भएर अभिएको अनिकाल, अभाव र गरिबी छ । युद्धका विभीषिकामा सन्त्रस्त बुद्धका निरीह अनुहारसंगै संस्कृति परम्पराका बाबरी र धाननाचहरू छन् । उदास भएर रोइरहेको बेनीबजार छ । समग्रमा कवि सुब्बाले समेटेको जीवनको शब्दकोशमा हाम्रै भोगाइका दुःख, पीडा र आनन्द छन् ।