युमा साम्यो - सांस्कृतिक स्वरूप र समसामयिक प्रश्नहरू

युमा साम्यो - सांस्कृतिक स्वरूप र समसामयिक प्रश्नहरू

by Nawa Raj Subba
Please fill out the form below to request this book.
Publisher:
Hamro Idea Pvt. Ltd.
Genre:Antiques & Collectibles
Language: ne
Published:August 14, 2025
ISBN13:9789937990820
ISBN10:9937990823

About the Book

युमा साम्यो लिम्बू समुदायको एक मौलिक प्रकृति–केन्द्रित धर्म हो, जसको ऐतिहासिक विकास, मिथकीय संरचना, मुन्धुम परम्परा, र समकालीन पुनराविष्कार (reinvention) को जटिल सम्बन्ध यस पुस्तकमा विश्लेषण गरिएको छ। पुस्तकले युमा धर्मको धार्मिक दर्शन मात्र प्रस्तुत गर्नुका साथै यसको सामाजिक, राजनीतिक र सांस्कृतिक प्रभावहरूको पनि आलोचनात्मक विश्लेषण गर्छ। हालको माङहिम निर्माणको प्रवृत्ति र हिन्दू तथा इसाई द्वैध धर्मको प्रभावले शमानी परम्परामा आधारित युमा धर्मलाई गहिरो असर पारेको छ। यी सबै पक्षहरूको समग्र मूल्यांकनलाई सिक्किम–नेपालको भूसांस्कृतिक सन्दर्भसँग जोड्दै, आदिवासी लिम्बू पहिचानको पुनर्संरचना विषयमा पुस्तकमा विस्तृत बहस गरिएको छ। यो पुस्तकमा धार्मिक कुराका अतिरिक्त आदिवासी धर्म–चेतना र अनुभवको विश्लेषण छ। यसको ‘मौलिकता’ मा अतीतदेखि वर्तमानसम्म संघर्ष चलिआएको देख्न सकिन्छ। पुस्तकको उद्देश्य के हो? यो पुस्तक "युमा साम्यो- सांस्कृतिक स्वरूप र समसामयिक प्रश्नहरू" युमा धर्मको आजको सामाजिक, सांस्कृतिक र राजनीतिक भूमिका बुझ्ने प्रयास हो। लिम्बू समुदायमा युमा साम्यो (Yumaism) धार्मिक पुनरुत्थानका रूपमा हाल देखा परेको छ, तर यसको अर्थ र स्वरूप हाल सबैको लागि एउटै छैन। अर्थात् युमा धर्मप्रतिको बुझाइ फरक फरक हुन गएको छ। त्यसलाई केलाउनु र देखाउनु पनि यो पुस्तकको एक उद्देश्य हो। कसैका लागि यो आदिवासी मौलिक धर्मको पुनरस्थापना हो, भने कसैका लागि यो बाह्य प्रभाव (जस्तै हिन्दू वा इसाई प्रभाव) को मिश्रणसहित आएको एउटा 'संस्थागत धर्म' हो। त्यसैले, पुस्तकले यी भिन्न दृष्टिकोणहरूलाई निष्पक्षरूपमा केलाउने र आलोचनात्मक दृष्टिले विश्लेषण गर्ने काम गरेको छ। के–के विषय समेटिएको छ? इतिहास र दर्शन – युमा साम्योको जरा कहाँ छन्? मुन्धुम, आत्मा, पुनर्जन्म, प्रकृति पूजाको अवधारणा कस्तो छ? फेदाङ वा साम्बा येबा/युमा (शमानी) परम्परासँगको द्वन्द्व – युमा साम्यो अहिले "माङहिम" जस्ता धार्मिक भवनहरू बनाएर औपचारिक धर्म बन्दै गएको छ। तर पुराना फेदाङ्मा, येबाहरू मौखिक परम्परामा आधारित शमानी विधिलाई नै 'साँचो' लिम्बू धर्म ठान्दछन्। यी दुईबीच वैचारिक तनाव छ। हिन्दू र इसाई प्रभाव – युमा धर्मका केही अंशहरू हिन्दू धर्मसँग मिल्दोजुल्दो छन्, जस्तै देवी–देवताको स्वरूप वा पूजा पद्धति। त्यस्तै, इसाई धर्ममा देखिने संगठनको संरचना, धार्मिक शिक्षा दिने तरिका, विशेष पोशाक, र प्रचार शैलीमा पनि कतिपय ठाउँमा समानता भेटिन्छ। यी समानताले युमा धर्मको मौलिक स्वरूपमा कस्तो असर पारेका होलान्? यसले आफ्नो पहिचानलाई अझ बलियो बनाएको छ कि कमजोर पारेको छ? विवेचनाको विषय बनेको छ। सामाजिक–राजनीतिक प्रभाव – युमा धर्म केवल धार्मिक विषयमा सीमित छैन, यसले लिम्बू समुदायको सामाजिक संरचना, मातृभाषा अधिकार, र सांस्कृतिक पहिचानका आन्दोलनमा पनि प्रभाव पारेको छ। यसले समुदायलाई संगठित बनाउन, अधिकारका लागि आवाज उठाउन, र सांस्कृतिक गर्व बढाउन कस्तो योगदान दिएको छ? त्यसका सफल उदाहरणहरू के–के छन्? यहाँ यसबारे पनि चर्चा गरिएका छन्।