About the Book
प्रा. बालकृष्ण पोखरेल नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस सङ्ग्रहमा सँगालिएका कविताहरू उहाँले विक्रम संवत् २०६३ को अन्तरालमा ओथारो बसेर कोरलेका काव्यिक फाँटका ७६ चल्लाहरू हुन्। बीच बाटोमा ब्यूँझेरबाट थालिएर गालीसराप बगाओँमा पुगी समापिने यस काव्यिक पाइतोमा हामीले अचेल भोग्दै आएका राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय आदि समस्याहरूलाई एक मानवतावादी कविका चस्माले हेर्नुभएको छ । कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधका उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षक नमुना बनेका छन् । अतीत, विभाजित समय, पाइला आदि शीर्षकका कविताहरूमा कविले विभिन्न प्रतीक प्रयोग गरेका छन् । अर्को शीर्षकको कविता घाममा कविले देशप्रेमलाई घामसँग र जनतालाई जूनतारासँग दाँजेका छन् । देशलाई उनले उमेर सकिएको बूढासँग दाँजेका छन् । उमेर सकिएको बूढो (२५० वर्ष पुग्नै लागेको ! ) को भरमा आफू बाँच्नु सम्भव नदेखेर नेपालीहरू सधैँका लागि नेपाल छोडेर लाखौँका सङ्ख्यामा सात समुन्द्रपारि जाँदैछन् । यस गम्भीर भावलाई उनले चन्द्र र सूर्यको अस्त भनी प्रतीक्याएका छन् । तर सूर्यास्त चाहिँ भएको छैन । भन्नाले नेपालमा देशप्रेम अझ छ । क्या मार्मिक छ कविको अनुभूति ! नेपालको कुनै जिल्लामा पनि सङ्ख्याबहुल देखा नपर्ने सतारलाई घरसाङ्लो (बन्धु) को रूपमा र उसलाई अनादार गर्नेहरूलाई वनसाङ्लो (शत्रु) को रूपमा प्रतीक्याउने हिम्मतझैँ अरू हिम्मत पनि धेरै अँगालिएको यस कवितासङ्गालालाई सफल प्रयोगको संज्ञा दिँदै यस्ता थुप्रै थप सफल प्रयोगहरूको लागि विदेशी भट्टको अधीनमा परेका भगवान् पशुपतिनाथले कवि नवराजलाई सधैँ आशीर्वाद दिइरहून् भन्दै आशीर्वचन भन्न मिल्ने यस छोटो मन्तव्यलाई म यहीँ टुङ्ग्याउँछु ।