पुस्तक ‘शताब्दी यात्रा’ लोकार्पण

इन्द्रमाया पौडेलद्वारा लिखित पुस्तक ‘शताब्दी यात्रा’को लोकार्पण गरिएको छ । आज आयोजित एक समारोहमा उपस्थिति अतिथिहरुले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गर्नुभयो । समारोहमा लेखक पौड्यालले आफ्नो जीवनको लामो यात्रामा सङ्गालेका अनुभवलाई समेटी तयार पारिएको पुस्तक आफूपछिका पुस्तालाई हस्तान्तरण गर्न प्रकाशन गरेको बताउनुभयो ।

पुस्तक समीक्षक सांसद डा बिन्दा पाण्डेले विगतको सामाजिक चित्रण रहेको पुस्तकमा जीवन जिउने मात्र होइन सामाजिक योगदान, शिक्षाप्रतिको अटल भाव, सुक्ष्म दृष्टिकोणले अध्ययनपछिको सामाजिक पहिचानको भाव झल्किएको बताउनुभयो । त्यस्तै अर्का पुस्तक समीक्षक पत्रकार युवराज घिमिरेले अतीतका प्रतिकुल समयमा लेखकले गरेका सङ्घर्ष प्रेरणादायी रहेको बताउनुभयो ।

पुस्तकको सम्पादन गर्नुभएकी शुभेच्छा तुलाधरले सामाजिक सेवाले ओतप्रोत रहनुभएकी लेखक पौड्याल आफूमा भएका ज्ञान हस्तान्तरण गर्न रुचाउने कलाले नै पुस्तकको सार्थकता रहेको बताउनुभयो । पण्डित नरहरि निरौलाले वर्तमान समयमा सबैजनाले आत्मचिन्तन गर्न जरुर रहेको बताउनुभयो । सत्य, इमान, नैतिकताले मानिसलाई सफलताको मार्गमा लैजाने उहाँको भनाइ छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानले आफ्ना अनुभवको सङ्ग्रह गर्न रुचाउने पुस्तालाई पुस्तकले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद डा विमला राईले शताब्दी यात्राका ज्ञानलाई लिपिबद्धरुपमा प्रकाश पारी आउने पुस्तालाई हस्तान्तरण गर्न पुस्तक लोकार्पण गरिएको बताउनुभयो । अबको पुस्ताले ज्येष्ठ नागरिकका ज्ञान, सीप, सङ्र्घष, अनुभवलाई सङ्ग्रह गरी आफ्नो जीवनको पाठको स्रोतको रुपमा लिन आवश्यक रहेको उहाँँले बताउनुभयो ।