पुस्तक ‘खुसी बालबालिका र अभिभावक' बजारमा

हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ । डा. साम्दु क्षेत्रीले लेखेको पुस्तकलाई डा. जयप्रसाद लम्सालले अनुवाद र डा. रमेश शुभेच्छुले भाषा सम्पादन गरेका हुन् ।

आफैभित्र, अरूसँग, प्रकृतिसँग र यस अनन्त जगत्सँग तादात्म्य राख्ने क्षमता र खुसी बढाउने विषयलाई पुस्तकले समेटेको छ । हालका आमाबुबाका अनेक चुनौतीमध्ये समय व्यवस्थापन, आत्मीय नाता सम्बन्धको अभाव, अनिश्चित जीवनशैली, नैतिक मूल्य ग्रहण गर्ने क्षमताको कमी, चाहिने नचाहिने सूचनाको बोझ, संयुक्त परिवारको विखण्डन जस्ता मुख्य छन् । यस्ता चुनौतीको कसरी सामना गर्ने र आफ्ना सन्तानलाई खुसी बनाइराख्ने भन्ने सूत्र यस किताबले दिएको छ ।

भुटानका पूर्वशिक्षामन्त्री ठाकुर एस. पौडेल लेख्छन्, ‘डा. क्षेत्रीको आफ्नै सन्तान हुर्काउँदा र खुसीका विषयमा प्रवचन दिँदाका अनुभवका साथै आध्यात्मिक तथा वैज्ञानिक परम्पराहरुको खोज अनुसन्धानका आधारमा लेखिएको यस पुस्तकले व्यक्तिको खुसी जीवनका बारेमा गहिरो अन्तरज्ञान दिएको छ ।’

बालबालिकाका लागि ठिक समयमा ठिक कर्म गरेर ठिक प्रतिफल प्राप्तिका लागि छलाङ मार्ने माध्यमका रूपमा आएको यो पुस्तकले अभिभावकले हिँड्नुपर्ने गोरेटो कसरी रेखांकन गर्ने भनेर सुझाव पनि दिएको छ । यसले आमाबुबालाई सोचेर उपयुक्त योजनाa बनाउन र एकीकृत विचारले सन्तान १६ वर्ष नहुँदासम्म तिनका प्रतिको जिम्मेवारीको बाटोमा निरन्तर लागिरहन मद्दत पुर्र्याउँछ ।

यस पुस्तकले भुटानी लोककथा, सामाजिक व्यवस्था, पूर्वीय र पश्चिमी धर्मदर्शन र संस्कृतिका विभिन्न उदाहरण, नैतिक कथा, चिनियाँ, एसियाली र अन्य लोकोक्ति, गीत, चलचित्र, विभिन्न अभिप्रेरक पुस्तक, पुराण, उपनिषद्, बौद्धग्रन्थका उदाहरणसमेत समेटेकाले यो आफैमा विविध पक्षको महत्पूर्ण ज्ञान सागरको रूपमा आएको छ ।

अभिभावकत्व र हुर्कने उमेर गरी दुई भागमा बाँडिएको पुस्तकभित्र अनुशासित जीवन र समय पालना, स्वास्थ र खुसी, मूल्यमान्यताको शिक्षा, मानसिक, आध्यात्मिक र संवेगात्मक उन्नति, स्तरीय जीवन यापन, संस्कृति र परम्परा, सामाजिक जीवन, पर्यावरणीय सम्बन्ध, असल स्वशासनका विषयलाई समेटिएको छ । यस्तै, गर्भावस्था, बालापन, पूर्वकिशोरावस्था, किशोरावस्था र सुधारात्मक उमेर (१७–२५) मा हुने विविध परिवर्तन, चाहना तथा संवेदनशीलताका पक्षमा पनि मिहीन विश्लेषण छ ।

भुटानको दुर्गम गाउँमा जन्मिएका लेखक क्षेत्रीको सपना नै शिक्षक र किसान हुने थियो । पहिले उनले आफ्नै देशमा र पछि अस्ट्रेलिया र स्विटजरल्यान्डमा किसान भएर काम गरे । सन् २०१८ मा उनले आईआईटी खड्गपुरमा शिक्षण संकायमा काम सुरु गरेका हुन् । सही सोच भए जीवनका कुनै पनि दृढ इच्छा पूरा गर्न सकिन्छ भन्ने क्षेत्री भुटानका एक सय उत्कृष्ट व्यक्तिको सूचीमा पर्छन् ।

क्षेत्री पहिलो भुटानी सरकारी स्नातक हुन्, उनले निजी र विकास क्षेत्रमा २५ वर्षसम्म काम गरे । यसपछि उनले प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा ५ वर्ष काम गर्ने अवसर पाए । ग्रश नेसनल ह्याप्पिनेस सेन्टरको स्थापना गरी उनी ५ वर्ष यसको नेतृत्वमा रहे । बेलायती संसद्, फिलिपिन्सको सिनेट र दर्जनौं मञ्चमा प्रेरणादायी प्रवचन दिएका क्षेत्रीले सन् २०१६ मा समता शित्य एकेडेमीबाट भगवान् बुद्ध शान्ति अवार्ड प्राप्त गरेका छन् ।