'अ यङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं' विमोचन

पिटर जे. कार्थकको उपन्यास अ यङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौंकाे विमोचन भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा मगलबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, प्रा. अभि सुवेदी तथा कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन।  

कार्यक्रममा बोल्दै माथेमा पिटरलाई आफूले धेरै पछि मात्र भेटे पनि किन यति ढिला भेटेछु भनेर थकथकी लागेको बताए। उनले भने, “उहाँसँग कुरा गर्दा यस्तो लाग्यो, किन मैले धेरै अघि भेट्न सकेनछु।”


पुस्तकमा पिटरले दार्जीलिङबाट काठमाडौं आउँदाको कथा त लेखेकै छन्, काठमाडौंबारे बाहिरिएका रूपमा आफूले देखेभोगेका रूपमा पनि चित्रण गरेको उनले जनाए।

प्रा‍. सुवेदीले पुस्तकका पात्र यथार्थ रहेको र यसले त्यति बेला अर्थात् पञ्चायतको समयताकको चित्रणलाई राम्ररी अभिव्यक्त गरेको बताए। उनले भने, “यहाँ पात्र यथार्थ छन्, तिनको जमात ठूलो छ। पुस्तक पढ्दा मैले विद्यार्थीकाल सम्झिएँ।”

साथीहरूको सङ्गत र आफू काठमाडौंमा बस्दा, यहाँ बस्न गरेका संघर्ष आदिलाई यहाँ राम्रोसँग बुनिएको पनि उनले जनाए। कार्यक्रममा कार्थकपत्नी रञ्जना कार्थकले पिटरको सम्झना गरिन्। पिटरले आफ्नो सिर्जनात्मक लेखनभन्दा पनि अरुका लागि आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ।

यसअघिका पुस्तक लेखनका विषयमा आफूहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको उनले जनाइन् । “यो पुस्तक तयार पारिसकेको कुरा पिटर दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए”, उनले भनिन्, “त्यसैले पनि योउ पुस्तक हाम्रा लागि विशेष छ।”



दार्जीलिङबाट नेपाल आई लामो समयसम्म नेपाली साहित्य, सङ्गीत र सम्पादनमा महत्वपूर्ण योगदान दिएका कार्थकप्रतिको श्रद्धाञ्जलिका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको प्रकाशक अजित बरालले जनाए। “काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,” उनले भने।  

कार्यक्रम लेखक वसन्त थापाले सञ्चालन गरेका थिए।

पुस्तकमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ। त्यति बेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे। यस पुस्तकले त्यसैको कथा भन्छ ।

कार्यक्रममा निर्मलमान तुलाधरले पिटर जे कार्थकको एउटा गीत ‘मायालु’ शीर्षकको गीत गाएर स्वर्गीय कार्थकको सम्झनासमेत गरेका थिए।
 

कार्थकको ७७ वर्षको उमेरमा २०७७ वैशाख १० मा निधन भएको थियो। कार्थकको उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छेले २०३४ सालको साझा पुरस्कार पाएको थियो।


सन् १९४३ मा भारतको असम राज्यको सिलोङमा जन्मिएका कार्थक सन् १९६५ मा नेपाल आई एक वर्ष वीरगन्ज बसेका थिए। त्यसपछि काठमाडौं आएका उनी लामो समय पत्रकारितामा संलग्न रहे। उनले हिमालय टाइम्स, द काठमान्डु पोस्ट, रिपब्लिका दैनिक लगायतमा काम गरेका थिए।

कार्थक संगीतकार पनि हुन्। उनले सन् १९६४ मा पहिलो पटक संगठित रूपमा दार्जीलिङकै पहिलो रक एन रोल ‘द हिलियन्स ब्यान्ड’ निर्माण गरेका थिए। त्यसपछि दार्जीलिङमा पश्चिमी संगीतको नयाँ प्रभाव देखापरेको थियो। उनी अम्बर गुरुङले दार्जीलिङमा स्थापना गरेको ‘संगीत आर्ट एकेडेमी’ का विद्यार्थी थिए।