कवि देवव्रतलाई साहित्य पोस्ट उत्तम काव्य पुरस्कार

शनिबार एक कार्यक्रम आयोजना गरी कवि देवव्रतको पहिलो कृति अश्वत्थामाको निधारबाट बाग्मती बग्छलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पहिलो पुस्तकको रूपमा काव्य लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका कविहरूलाई प्रोत्साहन गर्न यो पुरस्कार प्रदान गरिँदै आएको छ।

पुरस्कारका लागि कवि देवव्रसहित सुशीला खड्का हसिनाको पहिरोभित्रको घाम र प्रकाश रम्घालीको साँझको संगत अन्तिम सूचीमा परेका थिए। पुरस्कार छनौट समितिको मूल्यांकनमा उत्कृष्ठ ठहर भएका देवव्रतलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको साहित्य पोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाले जानकारी दिए।

साहित्यमा पदार्पण गर्दै गरेकै अवस्थामा प्रदान गरिएको पुरस्कारले आफूलाई थप हौसला मिलेको र जिम्मेवारी दिलाएको महसुस भएको कवि देवव्रतको भनाइ छ।

‘नेपाली कविताको क्षेत्रमा पहिलो संग्रह लिएर पाइला टेक्दै गर्दा साहित्य पोस्ट उत्तम काव्य पुरस्कार पाउनुले मेरो कविता लेखनको यात्रामा मलाई साहित्यप्रति अझै जिम्मेवारबोध गराएको छ,’ पुरस्कार प्राप्त गरेपछि कवि देवव्रतले भने।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ का लागि ०७९ सालभरि प्रकाशनमा आएकामध्ये २८ काव्यकृति प्राप्त भएका थिए। पहिलो चरणमा २८ काव्यकृतिहरूबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ काव्यकृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो।

विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ काव्यकृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरेको थियो। थप मूल्यांकनबाट देवव्रतको कवितासंग्रह उत्कृष्ट बनेको हो।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गरेका हुन्।
३८ कविता समावेश पुस्कृत संग्रहलाई इन्कले प्रकाशनमा ल्याएको हो।