Book Release: Sinka Paunru

Organized by यात्रा पब्लिसिङ हाउस

Saturday, December 31, 2022
काठमाडौंको टुँडिखेल

काठमाडौं, पुस १६ / गीतकार, गजलकार तथा कवि शीतल कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ सार्वजनिक भएको छ । गुरुङहरूको मुख्य चाड तमू ल्होसारको सन्दर्भमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपन्यास सार्वजनिक गर्नुभएको हो ।

गुरुङ समुदायको कथामा आधारित उपन्यास भएकाले विमोचनका लागि तमू ल्होसारको सन्दर्भ पारिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जनाएको छ । ‘गुरुङ समुदायको कथा भएकाले सो समुदाय एकै ठाउँ भेला हुने मुख्य सन्दर्भ पारेर टुँडिखेलमा विमोचन गरेका हौं’, हाउसका अध्यक्ष ऋषिराम अधिकारीले भन्नुभयो, ‘आफ्नो समुदायबारे साहित्यमा के लेखिइरहेको छ भन्नेबारे धेरैले जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।’

सार्वजनिक भएकै दिन उपन्यासले पुरस्कार पनि प्राप्त गरेको छ । गुरुङ समुदायको पात्रोअनुसार बाघ वर्गमा प्रकाशित १७३ पुस्तकमध्येबाट छानिएर कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ले ‘तमू वर्ष पुस्तक पुरस्कार– सन् २०२२’ प्राप्त गरेको तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्ले जनाएको छ । परिषद्ले गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि हरेक वर्ष तमू ल्होसारमा प्रदान गर्नेगरी पुरस्कार स्थापना गरेको हो । परिषदले तमू समुदायको बारेमा लिखित तथा प्रकाशित पुस्तक समीक्षाका लागि पुस ६ गतेसम्म पुरस्कारका लागि बुझाउन सूचना जारी गरेको थियो ।

‘दुई साताअघि नै पुस्तक प्रकाशित भए पनि विमोचनको लागि ल्होसार पर्खिरहेका थियौं । त्यही सन्दर्भमा पुस्तकले पुरस्कार पनि प्राप्त गर्दा दोब्बर खुसी लागिरहेको छ’, उपन्यासकार कादम्बिनीले भन्नुभयो, ‘उपन्यासको कथामा आम मानिसकै भावना प्रतिनिधित्व छ साथै गुरुङ समुदायको संस्कृति पनि महत्त्वपूर्ण पाटोको रूपमा आएको छ । त्यसैले आफ्नै समुदायबाट पुरस्कृत हुन पाउनु मेरो लागि थप खुसीको कुरा हो ।’

कादम्बिनी सुपरिचित गीतकार पनि हुनुहुन्छ । उहाँको ‘कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौ…, धेरैचोटि मरेँ म त धेरैचोटि बाँचेँ…, झुमा झुम्कावाली…लगायतका धेरै गीत लोकप्रिय छन् । ‘सिन्का पाउँरू’ उहाँको पहिलो उपन्यास हो । मुख्य वितरक अनलाइनमार्फत किताब घरघरमा पु-याउने अभियान सुरु गर्ने कम्पनी किताबयात्रा डटकम रहेको उपन्यासको मूल्य ४९९ रहेको यात्रा पब्लिसिङ हाउसले जानकारी दिएको छ ।