Book Release: Aato Oda

Organized by मण्डला थिएटर

Saturday, January 14, 2023
मण्डला थिएटर

लेखक जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ सार्वजनिक भएको छ।

झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक खतिवडाले संयुक्त रूपमा विमोचन गरेका हुन्।

‘आतोओडा’को अर्थ हुन्छ गाउँ-बस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरूले बताए। गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरूको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ।

सन्थाल समुदायका लक्खी हेमरमहरूले नागरिकता नपाएको कथा लेखक खतिवडाले सुनाइन्। ‘झापा विद्रोहमा साथ दिने सन्थालरूलाई आज पहिचान र अधिकारविहीन बनाइएको छ’, उनले भनिन्।

समालोचक विन्दु शर्माले सन्थाल पात्रहरूको दुःखले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन्। ‘रोकिँदै रोकिँदै पढिरहेँ,‘ उनले भनिन्, ‘उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो, आतोओडा। समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास।’

महेशविक्रम शाहले ‘आतोओडा’मा भुइँमान्छेका कथा लेखिएको बताए। ‘उपन्यासमा पुरुष पात्रभन्दा नारी पात्र सशक्त रुपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ। सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा आएको छ’, शाहले भने।

‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन्। झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिमा कहाँ छन्? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरुलाई यो प्रश्न छ,’ नारायण ढकालले भने।

किताब कलम प्रकाशनले प्रकाशित गरेको हो। उपन्यासको मूल्य ३३५ रुपैयाँ रहेको छ।