डा. सन्दुक रूइतको जीवनी आउँदै

विश्वविख्यात आँखा सर्जन डा.रूइतको जीवनी शनिबार, असोज ११ गते सार्वजनिक हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको यस किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्।

पद्मभूषण, म्यागासेसे जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. सन्दुक रुइतले भने, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्‍ने प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्‍ने म ठान्‍नेछु।”

फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो। यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो।

डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।

यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ