Ma Suwasini Maanchhe Bhaye Ke Garne Thiye!
निबन्ध

म सुवासिनीमान्छे भए के गर्ने थिएँ !

“म प्रेम गर्दछु आफ्नो युग स्वप्नसँग”

Laxmi Prasad Devkota
· 10 min read
१. मेरो निबन्धको शीर्षक सुन्दै तपाईं एकबार मुस्काउनुहुनेछ, या हाँस्नुहुनेछ । लक्ष्मीप्रसाद देवकोटाको स्त्रीमा परिणति ? असम्भवमा ठाडो ! अनौठामा विचित्र !   ‘कति आत्मविरोधी कल्पना !’ कसैले मन–मन सोच्नुहुनेछ ।   कोही मेरो पुरुषको परुषामूर्ति देखेर भन्नुहुनेछ, ‘बाजे ! तपाईं ४६ वर्षको उमेरमा पोथी हुनुभए पनि, नवयुगको कुन नायकको प्रेमपात्र हुनुहोला त, खै ?’ म स्वीकार गर्दछु कि यति बूढी हुनुमा केही मजा जरूर छैन । तर यौनपरिणति लिन सक्ने मैले आफ्नो वर्तमान उमेरबाट २१/२२ वर्ष पनि त घटाउन सक्तछु । यसमा म आशा गर्छु, तपाईं विश्वास गर्नुहोला । ऊ ! तपाईंलाई अलिकति चाख बढेर आयो । तर अझै तपाईं मुन्टो हल्लाउँदै हुनुहुन्छ । तपाईं भनिरहनुभएको होला, ‘त्यही घ्वाँके नाक र त्यही गाला हो भने त, त्यही कस्सेँदो मैनको रोगन ।’