केहि दिन अघि नेपालयको आरशालामा इतिहासमा रुचि राख्नेहरुको बेग्लै चहलपहल थियो । कारण, इतिहासकार महेशराज पन्त आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा पहिलोपटक सहभागी हुँदै थिए । आफ्नो २२औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’को सार्वजनिक विमोचन हुँदै गरेको यो पहिलो घटना थियो ।
इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तलाई प्रत्यक्ष सुन्ने उत्साहमा बौद्धिक वृत्त आरशालामा भेला भएका थिए ।
लोकार्पण कार्यक्रममा सबैभन्दा पहिला इतिहासकार दिनेशराज पन्त बोले । आफ्ना पिता नयराज पन्तले वि.सं. १९९७ देखि सुरु गरेको पाठशाला र त्यसमा पढ्नेहरूको प्राज्ञिक कामबारे उनी बोले । ‘संशोधन मण्डलले नेपालको इतिहास उत्खनन गर्न र सच्याउन आफूलाई समर्पित गर्यो,’ दिनेशराज पन्तले भने, ‘त्यही कामलाई यहाँसम्म ल्याइपुर्याउने दाजु महेशराज पन्त हुनुहुन्छ । उहाँ अहिले पनि लेख्ने र पढ्ने मात्र गर्नुहुन्छ ।’
दिनेशराज पन्तले दाजुको किताब ‘राणाः काल, कर्ता र किताब’को समीक्षा गरेका थिए । दाजुभाइबीच रमाइलो रमाइलोमा धेरै रोचक र ज्ञानवद्र्धक संवाद भएको थियो ।

लेखक महेशराज पन्तले आफ्ना बुवाले कुहिनोले पहाड फोड्ने प्रयास गरेको बताए । बुवाले त्यतिबेला चलिरहेको पढाइको आलोचना गर्दै आफैँ उदाहरणका रुपमा प्रस्तुत भएको बताए ।
लेखक पन्तले भने, ‘मैले यस किताबमा राणा कालखण्ड वरिपरि लेखेका २२ वटा शोधलेख संगृहीत गरेको छु । पत्रपत्रिकामा छापिएका भए पनि प्रशस्त परिष्कार र परिमार्जन गरेको छु ।’
पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘महेशराज पन्तले पूर्णिमा जर्नल सम्पादन गर्न थालेको ६३ वर्ष भयो । अहिले पनि उहाँ एक्लैले पूर्णिमा बचाइरहनुभएको छ । उहाँ जस्तो विशिष्ट इतिहासकारको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको कुरा हो ।’
लेखक महेशराज पन्तले आफ्नो पुस्तक इतिहासकारद्वय दिनेशराज पन्त र प्रत्यूष वन्तलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।
महेशराज पन्तले पिताले खोलेको पाठशालामा पढे । त्यही पढाइकै आधारमा पछि जर्मनी पुगेर ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरे । त्यहाँ उनले प्राध्यापन र अनुसन्धान गरे । उनका २२ वटा शोधपुस्तक र आठ सय जति अनुसन्धानमूलक लेख प्रकाशित छन् ।
यसअघि उनको ‘पृथ्वीनारायण शाहः नायक, प्रतिनायक अनि नायकदेशीय’ पुस्तक नेपालयबाटै प्रकाशित छ ।
दुई सय ८४ पृष्ठको पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम (thuprai.com) तथा अमेजनबाट किन्न सकिन्छ ।