शास्त्रीय सङ्गीतलाई आधुनिक सुगम सङ्गीत तथा सङ्गीतका धेरै प्रभेगको जग मानिन्छ । स्वर, श्रुति, राग र तालको ज्ञानले सङ्गीतको आधार निर्माण गर्दछ । तथापि, यी तत्त्वको ज्ञानले गहन साधना माग्ने हुँदा त्यसलाई कसरी आर्जन गर्ने – त्यसको सहज बाटो सबै खोजिरहेका हुन्छन् । स्वर्गीय सङ्गीत गुरु रविनदास श्रेष्ठले त्यसको सहज उत्तर हाम्रा लागि छोडेर जानुभएको छ ।
शास्त्रीय सङ्गीतका सयौँ विद्यार्थीलाई दीक्षित गरिसकेका सङ्गीत गुरु श्रेष्ठ सामान्य परिचयभन्दा धेरै माथि उठिसकेका प्रतिभाको नाम हो । दशकौँको साधना र समर्पणको जगमा उहाँले निर्माण गर्नुभएको विरासत आफैँमा भव्य छ, गौरवपूर्ण छ । पूर्वीय शास्त्रीय सङ्गीतको सूत्रलाई सरल भाषामा बुझाउने उहाँको कला र सीपका प्रशंसक देश - विदेशमा छन् । उहाँको सान्निध्यमा रहेर शास्त्रीय सङ्गीतको ज्ञान हासिल गरेका अनेकौँ कलाकार आज ख्यातिप्राप्त गायक-गायिकाको रूपमा स्थापित छन् । आफूले अध्ययन गर्ने क्रममा, विश्वविद्यालयमा पढाउने क्रममा तथा पाठ्यक्रम निर्माण गर्ने क्रममा विभिन्न रागका पकड, आलाप, स्थायी, अन्तरा र तान, तथा प्रयोगमा आउने स्वर, तिनका स्वभाव र क्रमको जानकारी दिने हेतुले उहाँले तयार गर्नुभएको राग नोटलाई 'राग मञ्जरी' को रूपमा यस पुस्तकमा प्रस्तुत गरिएको छ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि बढी उपयोगी हुने एवम् सङ्गीतमा रुचि हुने सबैका लागि पनि लाभदायक हुने यस पुस्तकले स्वर्गीय गुरु श्रेष्ठको योगदानलाई अमरत्व प्रदान गर्ने छ । यो उहाँप्रति साँचो श्रद्धाञ्जली पनि हो, र उहाँले कल्पना गर्नुभएको सङ्गीतको भावी पुस्ताका लागि एउटा अमूल्य उपहार पनि हो ।
Your review helps others make informed decisions
Click on a star to start your review